काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत हालसम्म २६ जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ।
मंगलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले अधिवेशनको प्रगति विवरण सार्वजनिक गर्दै २६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको जानकारी दिएका हुन्। उनका अनुसार थप सात जिल्लामा अधिवेशन उद्घाटन भइसकेको छ भने आगामी कात्तिक २२ गतेभित्र देशभरका सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ।
महतले प्रस्तुत गरेको विवरणअनुसार देशभरका ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ।
उनले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन आयोजना हुने र त्यसको औपचारिक उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जानकारी दिए।
कम समयमै महाधिवेशनको प्रक्रिया अघि बढाइए पनि कार्यकर्ताको सक्रियता र उत्साहपूर्ण सहभागिताले आफूहरू उत्साहित भएको महतले बताए। कार्यकर्ताहरू स्वयम्सेवी भावनाका साथ प्रक्रियामा सहभागी भइरहेको उनको भनाइ थियो।
विशेष महाधिवेशन पक्षधर मानिएका नेताकार्यकर्ता पनि आफ्नो समूहमा जोडिने क्रम जारी रहेको उल्लेख गर्दै महतले मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनमा सक्रिय सहभागिताका लागि सबैलाई आह्वान गरेका छन्।
प्रतिक्रिया