काठमाडौं । पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड र पक्राउ घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई निर्देशन दिएको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा पुगेर सोधपुछ गर्ने तथा धरपकड गर्ने कार्य अस्वीकार्य भएको बताए ।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानप्रदत्त मौलिक अधिकार भएकाले यसको संरक्षणमा पार्टीले कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
खरेलले पत्रकारमाथि भएको धरपकड र पक्राउमा संलग्न व्यक्ति, त्यसको कारण तथा अपनाइएको प्रक्रियाबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिए । दोषीलाई कारबाहीको दायरामा ल्याउन ढिलाइ नगर्न पनि पार्टीले आग्रह गरेको उनले बताए ।
समाचार लेखेकै आधारमा सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा सञ्चारकर्मीले आगामी दिनमा धरपकड र पक्राउको सामना गर्नुपर्ने अवस्था आउन नदिन प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नुपर्ने रास्वपाको भनाइ छ ।
यसैबीच, रास्वपाले न्यायालयमा देखिएका विकृति र विसंगति अन्त्य गर्न संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादलाई समेत समेटेर न्याय क्षेत्रको समग्र पुनर्संरचना आवश्यक रहेको पार्टीको निष्कर्ष छ ।
प्रवक्ता खरेलका अनुसार यस विषयमा संसद्मार्फत आवश्यक प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिइएको छ ।
उनले न्यायालयसँग सम्बन्धित विषय अदालत वा न्याय परिषद्बाट मात्रै समाधान नहुने भन्दै संवैधानिक प्रक्रियामार्फत संसद्ले भूमिका निर्वाह गर्नुपर्ने बताए । न्यायाधीशमाथि महाअभियोग लगाउने वा छानबिन गर्ने भन्ने विषयको निर्णय संसद्ले नै गर्ने उनको भनाइ छ ।
बैठकले मधेस प्रदेश तथा जिल्लामा देखिएका पार्टीका आन्तरिक समस्याबारे सहमहामन्त्री हरिलालको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनका लागि पेस गर्ने निर्णय पनि गरेको छ । प्रतिवेदन अध्ययनपछि आवश्यक कदम चालिने खरेलले जानकारी दिए ।
त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीका केही सदस्यसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने निर्णय भएको पनि उनले बताए ।
प्रतिक्रिया