काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु गरिएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरी टोल संकलन थालेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले यसअघि नै सूचना जारी गर्दै आजदेखि शुल्क लागू हुने जानकारी दिएको थियो । सडक बोर्ड नेपालको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार टोल शुल्क संकलन सुरु गरिएको हो ।
निर्धारित दरअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई चार वर्गमा विभाजन गरिएको छ ।
पहिलो वर्गमा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
दोस्रो वर्गका मिनीबस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, तेस्रो वर्गका बस तथा सिंगल रियर एक्सेल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
चौथो वर्गमा पर्ने मल्टी एक्सेल ट्रक, अन्य भारी सवारीसाधन तथा उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ ।
सवारीसाधनको प्रकारअनुसार प्रवेश र बाहिरिने शुल्कमा फरक राखिएको छ । विशेषगरी ठूला तथा मालवाहक सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा बढी शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
नागढुंगा–नौबिसे सडकखण्डको सवारी चाप, घुमाउरो बाटो र यात्राका क्रममा हुने जोखिम तथा समयको बचत गर्ने उद्देश्यले सुरुङमार्ग निर्माण गरिएको हो ।
सुरुङमार्ग प्रयोग गर्दा यात्रा समय र इन्धन बचत हुने अपेक्षा गरिएको छ । तर, टोल शुल्क लागू भएसँगै निजी सवारीधनी, सार्वजनिक यातायात सञ्चालक तथा मालवाहक व्यवसायीले आफ्नो यात्रा र ढुवानी खर्चमा समेत उक्त शुल्क समावेश गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया