कागेश्वरी मनोहरा नगर अस्पतालमा उल्लेखनीय सुधार, दैनिक १३० बाट एक हजारलाई सेवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०८३, आईतवार ०७:४७

काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालले सीमित पूर्वाधार र जनशक्तिबाट सेवा सुरु गरेको अवस्थाबाट आधुनिक स्वास्थ्य सेवासहित दैनिक एक हजारसम्म सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता विकास गरेको छ । अस्पतालले विशेषज्ञ सेवा, आधुनिक उपकरण, डिजिटल प्रणाली र व्यवस्थापकीय सुधारलाई प्राथमिकता दिँदै १०० शैय्याको सुविधासम्पन्न अस्पताल बनाउने लक्ष्य अघि सारेको छ ।

१२ वर्षअघिसम्म जीर्ण भवन र सीमित स्वास्थ्य सुविधामा सञ्चालन भइरहेको अस्पताल अहिले व्यवस्थित भवन, टोकन प्रणाली, विशेषज्ञ चिकित्सक र आधुनिक उपकरणसहित सेवा विस्तारको चरणमा पुगेको छ । विगतमा दैनिक करिब १३० जना सेवाग्राही आउने गरेकोमा अहिले दैनिक एक हजारसम्मले सेवा लिने गरेका छन् ।

नगर प्रमुख उपेन्द्र कार्कीले नगरवासीलाई आफ्नै नगरमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु नगरपालिकाको मुख्य उद्देश्य रहेको बताए ।

उनले भने, “सामान्य उपचारदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्म आफ्नै नगरमा उपलब्ध गराउने हाम्रो लक्ष्य हो । आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालको सेवा र पूर्वाधार विस्तार गरिरहेका छौँ । अब यसलाई १०० शैय्याको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना छ ।”

अस्पतालमा आँखा, दन्त, फिजियोथेरापी, मुटुरोग परीक्षणलगायत विशेषज्ञ सेवा विस्तार गरिएको छ । एमडीजीपी चिकित्सकसहित २४ घण्टा आकस्मिक सेवा, हाईकेयर तथा आइसोलेसन युनिट सञ्चालनमा छन् । नगरका तीनवटा वडामा मिनी अस्पतालको अवधारणाअनुसार स्वास्थ्य सेवा पनि विस्तार गरिएको छ ।

सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली, डिजिटल ई–हाजिरी, वेबसाइट, एमआईडीएस सफ्टवेयर, सहायता कक्ष तथा गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याइएको छ । विपन्न नागरिकका लागि सामाजिक सेवा इकाइमार्फत निःशुल्क उपचारको व्यवस्था गरिएको छ भने स्वास्थ्य बीमाको दाबी अस्वीकृति दर ३० प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झारिएको अस्पतालले जनाएको छ ।

अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न करिब ३० करोड रुपैयाँको योजना अघि सारिएको छ । आधुनिक अपरेसन थिएटर, अक्सिजन प्लान्ट, रक्तसञ्चार केन्द्र, प्रयोगशाला, आईसीयू, एनआईसीयू, डायलाइसिस तथा ट्रमा सेन्टरलगायत सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । रक्तसञ्चार केन्द्र स्थापनाको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

नगर प्रमुख कार्कीका अनुसार अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्दै नगरवासीलाई गुणस्तरीय उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य राखिएको छ ।

सीमित पूर्वाधारबाट आधुनिक स्वास्थ्य सेवातर्फ अघि बढेको अस्पतालका लागि अब १०० शैय्याको योजना कार्यान्वयन, दक्ष जनशक्ति व्यवस्थापन र विशेषज्ञ सेवाको विस्तार प्रमुख चुनौतीका रूपमा रहेका छन् । प्रस्तावित योजना पूरा भएमा कागेश्वरी मनोहरा मात्र नभई आसपासका क्षेत्रका नागरिकले समेत स्थानीय स्तरमै थप गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor