काठमाडौं । अर्नब चक्रवातको अवशेषस्वरूप पश्चिम नेपाल नजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ । यससँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र बाँकी रहेकाले मौसममा सुधार देखिन थालेको हो ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ । हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार तराई क्षेत्र, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ ।
प्रतिक्रिया