काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइन अपोइन्टमेन्ट लिएर सेवा लिन पुगेका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने समस्या भोगिरहेका छन् ।
निर्धारित मिति र समयमा सेवा पाउने अपेक्षासहित विभाग पुगेका सेवाग्राहीले समयमै पालो नआउने र लामो समय कुर्नुपर्ने गुनासो गरेका छन् । विशेषगरी आकस्मिक राहदानी बनाउन पुगेकाहरूले समेत समयमै सेवा पाउन नसकेको बताएका छन् ।
विभागले अपोइन्टमेन्टको मिति जाँच गरेर मात्र सेवाग्राहीलाई प्रवेश दिने व्यवस्था गरे पनि भोलिपल्टको समय लिएका सेवाग्राहीसमेत अघिल्लो दिनदेखि नै विभाग पुगेर लाइनमा बस्ने गरेका छन् । यसले अनलाइन अपोइन्टमेन्ट प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
राहदानी बनाउन पुगेका लक्ष्मीप्रसाद मैनालीले अनलाइनबाट समय लिएर आउँदा पनि निर्धारित समयमा सेवा नपाएको गुनासो गरे ।
उनले भने, ‘अनलाइन भरेको मतलब बुझेको छैन । टाइम दिएको छ २ः२० को हो तर २ः४५ सम्म पालो आएको छैन । न अनलाइन, न लाइन नै सिस्टममा छ ।’
मैनालीका अनुसार उनी बिहानै विभाग पुगेका थिए । तर सोधपुछलगायतका प्रक्रियामा समय बितेपछि प्रवेश गर्नसमेत ढिलाइ भएको थियो । उनले अनलाइनबाट समय निर्धारण गरिसकेपछि सोहीअनुसार सेवा उपलब्ध गराउनुपर्ने बताए ।
‘अनलाइनमा भराएको छ, टाइम दिएको छ तर टाइमको पालना छैन । अनलाइन सिस्टम चलाएको हो भने टाइममा हुनुपर्यो,’ उनले भने ।
उनले अनलाइन अपोइन्टमेन्ट लिएर आउने सेवाग्राहीका लागि छुट्टै व्यवस्थित लाइन बनाउनुपर्ने र विभागबाहिर देखिने बिचौलियाको गतिविधि नियन्त्रण गर्नुपर्ने मागसमेत गरे ।
त्यस्तै, राहदानी बनाउन पुगेका अर्का सेवाग्राही दीपकराज पौडेलले पनि लामो समयसम्म पालो कुर्नुपरेको बताए । छिटो सेवा पाइने आशामा अनलाइनबाटै भुक्तानी गरेर आएको भए पनि आफ्नो पालो कहिले आउने भन्ने निश्चित नभएको उनको गुनासो छ ।
उनले भने, ‘बेलुका ५ बजेसम्म नि मेरो पालो आउँछ जस्तो छैन । छिटो हुन्छ भनेर पेमेन्ट पनि अनलाइनमै गरेर आएको हुँ ।’
अनलाइनबाट भुक्तानी गरिसकेपछि पनि सेवा पाउन ढिलाइ हुँदा थप अन्योल भएको पौडेलले बताए । पुनः रकम तिरेर अर्को दिन आउँदा पनि काम हुने वा नहुने निश्चित नभएको उनको भनाइ छ ।
उनले भुक्तानी गरिसकेका, अनलाइन अपोइन्टमेन्ट लिएका र टाढाबाट आएका सेवाग्राहीका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गर्न सुझाव दिए ।
अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई सहज र छरितो बनाउने उद्देश्य राखिए पनि व्यवहारमा निर्धारित समयमा सेवा नपाउँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । सेवाग्राहीले अपोइन्टमेन्टअनुसार सेवा उपलब्ध गराउने, लाइन व्यवस्थापन प्रभावकारी बनाउने तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्न राहदानी विभाग र सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया