काठमाडौं । चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीले आगामी आइतबार कात्तिक १५ गते न्युरोड मलको पहिलो तल्लामा नयाँ आउटलेट उद्घाटन गर्ने तयारी गरेको हो । हाल ज्ञानेश्वरबाट सेवा दिँदै आएको कम्पनीले ग्राहकको सहजता र व्यवसाय विस्तार गर्ने उद्देश्यले न्युरोडमा पनि सेवा सुरु गर्न लागेको सञ्चालक भीष्म गौतमले जानकारी दिए ।
उनका अनुसार नयाँ आउटलेटबाट ग्राहकले चाँदीका बार तथा सिक्का प्रत्यक्ष हेरेर खरिद गर्न सक्नेछन् । साथै, कम्पनीको मोबाइल एपमार्फत खरिद गरिएको चाँदीको भुक्तानीपछि आउटलेटबाट संकलन गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले चाँदीको कारोबारलाई सहज, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यले ‘एचबीसी एप’ सञ्चालनमा ल्याएको छ । एपमार्फत ग्राहकले दैनिक चाँदीको मूल्य हेर्न, खरिदको लक्ष्य निर्धारण गर्न र आफ्नो आवश्यकताअनुसार चाँदीका सिक्का तथा बार खरिद गर्न सक्छन् ।
एपबाट १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि एपमा खाता खोली ग्राहक पहिचान प्रक्रिया पूरा गर्नुपर्नेछ ।
एप प्रयोगकर्तालाई कम्पनीले १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सँगको सहकार्यमा प्रदान गरिने उक्त सुविधा ग्राहकको कारोबारका आधारमा स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम गरी तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार क्रमशः एक लाख, पाँच लाख र १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा प्राप्त हुनेछ ।
कम्पनीका अनुसार एचबीसी एपबाट बुक गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी गरेपछि आउटलेटबाट संकलन गर्न सकिनेछ । खरिद गरेको चाँदी तीन दिनपछि कम्पनीले सार्वजनिक गरेको पुनःखरिद मूल्यमा हिमालयन बुलियनलाई नै बिक्री गर्न सकिने व्यवस्था पनि छ ।
कम्पनीले बिक्री गर्ने चाँदीका बार तथा सिक्का प्रमाणिकता प्रमाणपत्र र बिलसहित उपलब्ध गराउँदै आएको छ । ती उत्पादनमा ९९.९९ प्रतिशत शुद्धता रहेको कम्पनीको दाबी छ । कम्पनीले दुबई र हङकङबाट चाँदीका ग्रान्युल्स आयात गरी बार तथा सिक्का उत्पादन गर्दै आएको जनाएको छ ।
सन् २००० मा स्थापना भएको हिमालयन बुलियनले हालसम्म १५ करोड अमेरिकी डलरभन्दा बढीको चाँदी कारोबार गरिसकेको जनाएको छ । कम्पनीका अनुसार हाल उसका १० हजारभन्दा बढी ग्राहक छन् ।
न्युरोडबाट सेवा विस्तार सुरु गरेको कम्पनीले आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया