काठमाडौं । नेपालीहरूको महान् सांस्कृतिक तथा धार्मिक पर्व शुभ दीपावली एवं तिहारको अवसरमा अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (आईपीडीएफ) ले देउसी–भैलो विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले मञ्चले देउसी–भैलो कार्यक्रम गर्न लागेको हो।
आईपीडीएफले २०८३ साल कात्तिक २३ गते ललितपुरको हात्तीवनमा विशेष देउसी–भैलो कार्यक्रम आयोजना गर्ने जनाएको छ। कार्यक्रमको संयोजन मञ्चकी उद्यमशीलता, महिला सशक्तीकरण तथा कर्पोरेट विकास विभागकी विभागीय संयोजक सरिता भट्टराई श्रेष्ठले गर्नेछिन्। कार्यक्रममा मञ्चका पदाधिकारी, विभागीय संयोजक, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहनेछ। यस अवसरमा विभिन्न व्यक्ति तथा परिवारको घर–आँगनमा पुगेर देउसी–भैलो खेल्दै तिहारको शुभकामना आदानप्रदान गरिनेछ।
आईपीडीएफका अध्यक्ष मुकुन्द कुमार ढुंगानाले देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान र पुस्तौँदेखि चल्दै आएको परम्परा भएको बताए। उनले भने, “देउसी–भैलो केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो हाम्रो संस्कृति, मौलिकता, सामाजिक एकता र आपसी सद्भावको प्रतीक हो। आधुनिकतासँगै मौलिक परम्परा ओझेलमा पर्न नदिन नयाँ पुस्तालाई समेत सहभागी गराउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ। आईपीडीएफले सामाजिक तथा सांस्कृतिक जिम्मेवारीलाई आत्मसात् गर्दै यस कार्यक्रमलाई अघि बढाएको हो।”
कार्यक्रम संयोजक सरिता भट्टराई श्रेष्ठले देउसी–भैलोले परिवार, समुदाय र समाजबीच आत्मीय सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने बताइन्। उनले तिहारको खुसी सबैसँग बाँड्दै नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्न सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरिन्।
आईपीडीएफले कार्यक्रममा सहभागी हुन, आफ्नो घर–आँगनमा देउसी–भैलो टोलीलाई स्वागत गर्न तथा आर्थिक, नैतिक र भौतिक सहयोग प्रदान गर्न सम्पूर्ण शुभेच्छुक, व्यवसायी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
तिहारको अवसरमा आयोजना हुने यस कार्यक्रमले सांस्कृतिक संरक्षणसँगै आपसी भेटघाट, शुभकामना आदानप्रदान र सामाजिक सम्बन्ध विस्तारमा योगदान पुर्याउने विश्वास मञ्चले लिएको छ।
प्रतिक्रिया