काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक शिक्षा, शैक्षिक सुधार तथा सार्वजनिक शिक्षाको रूपान्तरणलाई समेटेर तयार गरिएको ३५ मिनेट अवधिको वृत्तचित्र निर्माण कार्य सम्पन्न भएको छ। “समृद्धिको आधार : बूढानीलकण्ठको शैक्षिक रूपान्तरण” शीर्षकमा तयार गरिएको वृत्तचित्रले नगरपालिकाले शिक्षा क्षेत्रमा अघि बढाएका नीति, कार्यक्रम, सुधारका प्रयास तथा उपलब्धिलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ।
नगरपालिकाको शैक्षिक विकासको यात्रा अभिलेखीकरण गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्रमा सामुदायिक विद्यालयको अवस्था, शैक्षिक नतिजा, भौतिक पूर्वाधार, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ तथा विद्यालय व्यवस्थापनका विषयलाई समेटिएको छ।
वृत्तचित्रमा शिक्षा क्षेत्रमा गरिएको लगानी, नीतिगत निरन्तरता, दिवा खाजा, स्काउट, रमाइलो शुक्रबार, करिअर काउन्सिलिङ तथा जीवनोपयोगी शिक्षासँग सम्बन्धित कार्यक्रमलाई समेत प्रस्तुत गरिएको छ। यसका साथै जनप्रतिनिधि, प्रशासनिक नेतृत्व, शिक्षा क्षेत्रका अधिकारी, शिक्षक, विद्यार्थी तथा अभिभावकका दृष्टिकोण र अनुभवलाई समेट्ने विषयवस्तु समावेश गरिएको छ।
सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धि, शिक्षण सिकाइमा सुधार तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै तयार गरिएको वृत्तचित्रले शिक्षा र सुशासनबीचको सम्बन्धलाई समेत उजागर गरेको छ। शैक्षिक प्रशासनमा पारदर्शिता, जवाफदेहिता र नतिजामुखी कार्यसम्पादनको महत्वलाई पनि यसमा प्रस्तुत गरिएको छ।
वृत्तचित्रको मुख्य सन्देश गुणस्तरीय शिक्षामार्फत सक्षम नागरिक उत्पादन गर्दै समृद्ध बूढानीलकण्ठ निर्माण गर्नु रहेको छ। यसले नगरपालिकाको शैक्षिक गतिविधिलाई दृश्य अभिलेखका रूपमा सुरक्षित राख्नुका साथै आगामी शैक्षिक योजना, समीक्षा तथा प्रचारप्रसारका लागि उपयोगी सामग्रीका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
वृत्तचित्र निर्माण कार्य सम्पन्न भएसँगै बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक शिक्षा सुधारका प्रयास, सामुदायिक विद्यालयको महत्व र शैक्षिक विकासको सम्भावनालाई नागरिकसमक्ष प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया