जिबुटीमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १५ बालबालिकासहित १३९ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०८३, सोमबार ०६:४६

जिबुटी । जिबुटीको तट नजिकै आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ। दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जनाएको छ।

आईओएमका अनुसार जिबुटीबाट ३०५ जना यात्रु बोकेर यमनतर्फ जाँदै गरेको डुङ्गा बिहीबार राति ओबोक बन्दरगाह नजिकै पल्टिएको थियो। दुर्घटनापछि उद्धार टोलीले ८२ जनालाई जीवितै उद्धार गरेको जनाएको छ।

सुरक्षा र रोजगारीको खोजीमा खाडी मुलुक पुग्ने आशासहित हरेक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीले जोखिमपूर्ण समुद्री यात्रा गर्ने गरेका छन्। सुरुमा १०९ जनाको मृत्यु भएको पुष्टि गरेको आईओएमले थप ३० वटा शव फेला परेपछि मृतकको सङ्ख्या बढाएर १३९ पुगेको जनाएको हो।

स्थानीय अधिकारीहरूले मृतकको अन्त्येष्टिको व्यवस्थापन गरिरहेका छन्। उद्धार गरिएका सबै व्यक्ति इथियोपियाका नागरिक रहेको र उनीहरूलाई आवश्यक चिकित्सा सेवा उपलब्ध गराइएको जनाइएको छ।

यमनमा एक दशकभन्दा लामो समयदेखि गृहयुद्ध जारी छ। द्वन्द्व र क्षेत्रीय अस्थिरताका बाबजुद गरिबी, असुरक्षा तथा जलवायु परिवर्तनको प्रभावका कारण आप्रवासीहरू बाब एल–मान्डेब जलडमरूमध्य पार गर्दै यमन पुग्ने जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन्।

यस दुर्घटनाले अफ्रिकाबाट खाडी क्षेत्रतर्फ जाने क्रममा आप्रवासीहरूले सामना गर्नुपर्ने जोखिम र समुद्री मार्गमा हुने मानवीय क्षतिको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor