काठमाडौं । काठमाडौंको कपनमा विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ का ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त बौद्धले आइतबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार असोज २२ गते बिहान साढे १० बजे बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयकी शिक्षिकालाई दाहालले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। सोही क्रममा उनले विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
घटनामा घिमिरेको निर्देशनमा दाहालले प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया