बेलकोटगढीका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा, सामाजिक अभियानमा सक्रिय सोनी ढुंगाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०८३, शनिबार ०६:४३

नुवाकोट । बेलकोटगढी नगरपालिकाका तीन विद्यालयमा अध्ययनरत ६ सयभन्दा बढी विद्यार्थीलाई सामाजिक अभियन्ता सोनी ढुंगानाले न्यानो कपडा वितरण गर्नुभएको छ। करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो।

न्यानो कपडा वितरणसँगै ढुंगानाले विद्यार्थीको अधिकार, शिक्षामा समान अवसर र विपन्न बालबालिकाको शैक्षिक पहुँचका विषयलाई प्राथमिकताका साथ उठाउनुभएको छ। आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने उल्लेख गर्दै उहाँले विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीको सहजताका लागि यातायात सुविधा आवश्यक रहेको औँल्याउँदै उहाँले विद्यालयमा सबै विद्यार्थीले समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

विद्यालयलाई विभेदरहित र विद्यार्थीमैत्री बनाउनुपर्ने धारणा राख्दै ढुंगानाले शैक्षिक संस्थालाई दलीय राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बताउनुभयो। विद्यालयका गतिविधि विद्यार्थीको हित, सिकाइ र भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

न्यानो कपडा वितरणलाई सामाजिक सेवाको अभियानका रूपमा अघि बढाइएको उल्लेख गर्दै ढुंगानाले यसमा कुनै राजनीतिक स्वार्थ नरहेको स्पष्ट पार्नुभयो। विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर सहयोग गर्ने र शिक्षामा पहुँच विस्तार गर्न योगदान पुर्‍याउने उद्देश्यले आफूले सामाजिक अभियानलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो।

ढुंगाना विगत एक दशकदेखि विभिन्न व्यक्ति तथा समुदायलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आउनुभएको छ। शिक्षा क्षेत्रमा समेत निरन्तर योगदान पुर्‍याउँदै आउनुभएकी उहाँले नुवाकोटका विभिन्न विद्यालयमा हालसम्म १५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिसक्नुभएको छ। अक्षयकोषमार्फत विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उहाँको प्रयासले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वको महत्वलाई उजागर गरेको छ।

यसै क्रममा ढुंगानाले बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगत लामासँग भेटघाट गरी नगरपालिकाको समग्र अवस्था, विकासका गतिविधि तथा स्थानीय आवश्यकताका विषयमा छलफल गर्नुभएको थियो।

विद्यार्थीलाई न्यानो कपडा वितरण, विपन्न बालबालिकाको शिक्षामा सहयोग र विद्यालयमा समान अवसरको पक्षमा आवाज उठाउँदै सोनी ढुंगानाले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिनुभएको छ। उहाँको अभियानले विद्यार्थीको शैक्षिक आवश्यकता सम्बोधन गर्न समुदाय, सामाजिक अभियन्ता र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor