नेपाल–ओमान द्विपक्षीय परामर्श बैठक सम्पन्न, व्यापारदेखि श्रम सहकार्यासम्म विस्तार गर्ने सहमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०८३, शुक्रबार ०७:३१

काठमाडौं। नेपाल र ओमानबीचको दोस्रो द्विपक्षीय परामर्श बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै कृषि, व्यापार, पर्यटन, लगानी, श्रम आप्रवासन तथा संस्कृतिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

बैठकमा भोटेकोशी बाढीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। नेपाली पक्षले ओमानलगायत मित्रराष्ट्रबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्य जारी रहने अपेक्षा गरेको जनाएको छ।

त्यसैगरी, काठमाडौंमा ओमानको दूतावास स्थापना, नेपाल–ओमान मैत्री संस्था गठन तथा सन् २०२७ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव संयुक्त रूपमा मनाउने तयारीबारे पनि छलफल भएको छ।

बैठकमा श्रम आप्रवासनका क्रममा नेपाली श्रमिकको हक, अधिकार, सुरक्षा तथा हित संरक्षणलाई प्राथमिकता दिइएको थियो। श्रम तथा जनशक्ति आदानप्रदानसम्बन्धी समझदारीपत्रलाई छिट्टै अन्तिम रूप दिने विषयमा समेत जोड दिइएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गरेका थिए भने ओमानी प्रतिनिधिमण्डलको नेतृत्व ओमानको परराष्ट्र मन्त्रालयका राजनीतिक मामिला उपसचिव शेख खलिफा अल हर्थीले गरेका थिए।

दुई देशबीचको नियमित संवाद र सहकार्यलाई निरन्तरता दिने उद्देश्यले सम्पन्न बैठकले कूटनीतिक सम्बन्ध थप मजबुत बनाउन तथा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आपसी सहयोग विस्तार गर्न आधार तयार गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor