बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकलाई लक्षित गरी बालबालिकाको आवश्यकता, व्यवहार बुझ्ने तरिका र सहयोगका उपायसम्बन्धी एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बुढानीलकण्ठ नगरपालिका, अटिजम केयर नेपाल सोसाइटी (AutismCare Nepal Society) र सिबिएम ग्लोबल डिसाबिलिटी इन्क्लुजन (CBM Global Disability Inclusion) को संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा अटिजम भएका बालबालिकाको उचित हेरचाह, पारिवारिक सहयोग, व्यवहार बुझ्ने तरिका तथा समावेशी वातावरण निर्माणका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराई, जनस्वास्थ्य महाशाखा प्रमुख रेवतीराज कार्कीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रशिक्षणका क्रममा अटिजम भएका बालबालिकाको व्यक्तिगत आवश्यकता पहिचान गर्ने, उनीहरूको व्यवहार र सञ्चार शैली बुझ्ने, दैनिक जीवनमा आवश्यक सहयोग प्रदान गर्ने तथा परिवार र समुदायमा सकारात्मक वातावरण निर्माण गर्ने विषयमा जानकारी दिइएको थियो। बालबालिकाको क्षमता, रुचि र आवश्यकताअनुसार व्यवहार गर्न तथा उनीहरूको सिकाइ र विकासमा परिवारको भूमिका प्रभावकारी बनाउनुपर्ने विषयमा समेत जोड दिइएको थियो।
अटिजम भएका बालबालिकालाई दया वा उपेक्षाभन्दा पनि सम्मान, स्वीकार्यता, उचित सहयोग र अवसर आवश्यक पर्ने भएकाले परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकारबीच सहकार्य हुनुपर्ने सन्देश कार्यक्रमले दिएको थियो। साथै, उनीहरूको अधिकार सुनिश्चित गर्दै सामाजिक सहभागिता बढाउन र विभेदरहित वातावरण निर्माण गर्न जनचेतना अभिवृद्धि आवश्यक रहेको औँल्याइएको थियो।
स्थानीय तहमा अटिजमसम्बन्धी सचेतना विस्तार, अभिभावकको क्षमता अभिवृद्धि र बालबालिकाको आवश्यकताअनुसार सहयोगका उपायबारे जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमले अटिजम भएका बालबालिकाको उचित हेरचाह, समावेशिता र अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमले अटिजम भएका बालबालिका र उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय सरकार, सम्बन्धित संस्था र समुदायबीचको सहकार्य थप सुदृढ बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया