काठमाडौं । २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्यायो। पुराना राजनीतिक शक्तिहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्तिलाई सरकार सञ्चालनको अवसरसमेत यही आन्दोलनपछि प्राप्त भयो।
आन्दोलनले भ्रष्टाचार, बेथिति र सुशासनका विषयलाई राजनीतिक बहसको केन्द्रमा ल्यायो। तर, परिवर्तनका लागि सडकमा उत्रिएका नागरिकमध्ये घाइते भएकाहरूको जीवनमा भने अपेक्षित परिवर्तन आउन नसकेको गुनासो बढ्दै गएको छ।
काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–४ का रमेश लामा यसको एउटा उदाहरण हुन्।२०८२ भदौ २४ गते कलंकीमा आन्दोलनका क्रममा गोली लागेर घाइते भएका लामालाई तत्काल अस्पताल लगियो। उपचारका क्रममा शरीरमा रहेका गोली निकालिए। केही समय उपचारपछि उनी घर फर्किए, तर घर फर्किएपछि नियमित जीवनमा फर्किन सकेनन्।
सामान्य श्रम गरेर परिवारको जीविकोपार्जन गर्दै आएका लामा अहिले भारी काम गर्न सक्दैनन्। शरीरमा रहेका चोटका कारण काम गर्न कठिन भएपछि उनको आम्दानी रोकिएको छ। नियमित काम नहुँदा परिवारको दैनिकीसमेत संकटमा परेको छ।परिवारका अनुसार लामा पछिल्लो समय मानसिक रूपमा समेत असहज अवस्थामा छन् र बेला–बेला बेहोस हुने गरेका छन्।
राज्यले जेन्जी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण गरेको भए पनि घाइतेको अवस्था, चोटको गम्भीरता र उपचारको आवश्यकताका आधारमा प्रभावकारी सहयोग हुन नसकेको परिवारको गुनासो छ।
रमेशका आफन्तहरूले उपचार र सहयोगका लागि सरकारका विभिन्न निकायमा पटक–पटक पहल गरे पनि ठोस सहयोग प्राप्त नभएको बताएका छन्। घाइते परिचयपत्र लिएर सरकारी अस्पताल पुग्दा समेत आवश्यक सहुलियत र सुविधा नपाएको उनीहरूको दाबी छ।
आन्दोलनको बलमा राजनीतिक परिवर्तन सम्भव भयो भने त्यस आन्दोलनमा घाइते भएकाहरूको उपचार र पुनःस्थापनाको जिम्मेवारी पनि राज्यकै हुनुपर्ने परिवारको माग छ।
राजनीतिक परिवर्तनको चर्चा भइरहँदा परिवर्तनका लागि सडकमा उत्रिएका नागरिकको पीडा ओझेलमा पर्न नहुने आवाज उठिरहेको छ। यही अवस्थाबीच घाइते रमेश लामा उपचार र जीवनयापनका लागि सहयोगको पर्खाइमा छन्।
प्रतिक्रिया