सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन्।
सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले विकासलाई चुनावी परिणाम र मतसँग जोड्न नहुने स्पष्ट पारे। उनले कर्णालीले रास्वपालाई मत नदिए पनि सरकारमा रहुन्जेल कर्णालीको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
‘तपाईंले हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ। चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेलसम्म कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहने छ,’ उनले भने।
लामिछानेले कर्णालीसँग विकासका नाममा राजनीतिक सौदाबाजी नगर्ने पनि बताए। पार्टीका उम्मेदवारलाई जिताए मात्रै पुल, सडक तथा अन्य विकास निर्माणका काम गर्ने आश्वासन दिएर मत माग्ने राजनीति रास्वपाले नगर्ने उनको भनाइ थियो।
‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौँ। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ, हाम्रा मान्छेलाई जितायौ भने पुल बन्छ, बाटो बन्छ भनेर कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौँ,’ उनले भने।
उनले राजनीति केवल चुनाव जित्नका लागि नभई जनताको समस्या समाधान र विकासका लागि हुनुपर्ने धारणा राख्दै चुनावलाई राजनीतिको एउटा निरन्तर प्रक्रिया मात्र भएको बताए।
लामिछानेले कर्णालीमा रास्वपाको संगठनात्मक उपस्थिति तथा संसदीय प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गरे। पार्टीको आवाज कर्णालीका दुर्गम क्षेत्रसम्म पुर्याउन नसकेको भन्दै आगामी दिनमा कर्णालीका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने संकेत गरे।
‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँहरूको जस्तो हुन सकेन। पार्टीका रूपमा उम्मेदवारलाई जिताएर संसद् लैजाने हकमा हामी कर्णालीमा पछाडि पर्यौँ। हाम्रो आवाज कर्णालीको दूरदराजमा पुग्न सकेन। पुर्याउन सकेनौँ हामीले। र, कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुन गयो,’ उनले भने।
प्रतिक्रिया