बालाजु प्रहरी वृत्त पुनर्निर्माण अलपत्र : बजेट अभाव भएपछि नागरिकसँग सहयोग मागियो

evccfn@gmail.com' rastriyakhabar
२० आश्विन २०८३, मंगलवार २३:५९

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा ध्वस्त भएको बालाजु प्रहरी वृत्तको भवन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइए पनि प्रहरीको नियमित कामका लागि आवश्यक भौतिक पूर्वाधार अझै पर्याप्त हुन सकेको छैन।

गत भदौ २३ र २४ गतेको घटनामा क्षतिग्रस्त भएको पुरानो भवनलाई तत्कालका लागि मर्मत गरेर कामचलाउ बनाइएको हो। तर, अत्यधिक चाप रहने बालाजु प्रहरी वृत्तमा पर्याप्त कार्यकक्ष तथा आवश्यक भौतिक संरचना नहुँदा प्रहरी कर्मचारीले कठिन परिस्थितिमा काम गर्नुपरेको छ।

भवन पुनर्निर्माणका लागि स्थानीय समाजसेवी शिवभक्त रञ्जितको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ। समितिले स्थानीय समाजसेवी, व्यापारी, संघसंस्था तथा क्लबहरूको सहयोगमा निर्माण कार्य अघि बढाइरहेको छ तर, बजेट अभाव भएपछि निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

केही कानुनी तथा प्राविधिक समस्याका कारण नेपाल सरकारको गृह मन्त्रालयबाट सो भवन निर्माणका लागि सिधै बजेट विनियोजन गर्न नसक्ने अवस्था भएपछि स्थानीय स्तरबाटै सहयोग जुटाएर निर्माण कार्य अघि बढाइएको निर्माण समितिले जनाएको छ।

निर्माण समितिका संयोजक शिवभक्त रञ्जितका अनुसार भवन निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगै सामाजिक व्यक्तित्व र व्यवसायीहरूसँग सहयोगका लागि निरन्तर पहल भइरहेको छ तर, अपेक्षाअनुसार सहयोग जुट्न नसक्दा निर्माण कार्यमा ढिलाइ भएको उहाँले बताउनुभयो।

“भवन निर्माणका लागि सहयोग जुटाउने प्रयास भइरहेको छ तर, आवश्यक रकम जुट्न नसक्दा कामलाई अपेक्षित गति दिन सकिएको छैन,” रञ्जितले भन्नुभयो।बालाजु प्रहरी वृत्तका इन्चार्ज डीएसपी यमलाल बञ्जाडेले पनि भवन निर्माणमा नागरिकस्तरबाट सहयोग आवश्यक रहेको बताउनुभएको छ।

उहाँका अनुसार प्रहरी वृत्तमा पर्याप्त भौतिक संरचना नहुँदा प्रहरीको दैनिक कार्यसम्पादन र सेवाग्राहीलाई सेवा दिनसमेत कठिनाइ हुने गरेको छ। व्यवस्थित भवन निर्माण भए प्रहरी कर्मचारीले सहज वातावरणमा काम गर्न पाउनुका साथै नागरिकले पनि प्रभावकारी सेवा प्राप्त गर्ने उहाँको भनाइ छ।

निर्माण समितिले बालाजु प्रहरी वृत्तको भवन निर्माणलाई पूर्णता दिन स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी, सामाजिक संस्था, क्लब, विभिन्न संघसंस्था तथा सहयोगी मन भएका नागरिकलाई आर्थिक तथा आवश्यक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

नागरिकको सुरक्षा गर्ने प्रहरीको कार्यस्थल निर्माणमा नागरिककै हातेमालो आवश्यक रहेको भन्दै समितिले सहयोग अभियानलाई तीव्रता दिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor