काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई एयरलाइन्सको उडान नम्बर एफजेड१०७३ (FZ1073) मा ककपिटभित्रै सह-पाइलटले मुख्य पाइलटमाथि सांघातिक आक्रमण गरी विमान दुर्घटना गराउने प्रयास गरेको खुलासा भएको छ।
यूएईका अभियोजक जनरल (Attorney General) हमद सैफ अल सम्सीका अनुसार उडानका क्रममा ओमानी नागरिक रहेका सह-पाइलट हमाम अल-हमामीले ककपिटमा आपत्कालीन अवस्थाका लागि राखिने ‘क्र्यास एक्स’ (दुर्घटनामा प्रयोग हुने बन्चरो) प्रयोग गरी मुख्य पाइलट स्मित मच्छरमाथि आक्रमण गरेका थिए।
दुबईबाट इजरायलको तेल अभिभका लागि १७२ यात्रु र चालक दलका सदस्यसहित उडेको विमानमा उडानकै क्रममा सह-पाइलट अल-हमामीले मुख्य पाइलट मच्छरलाई गम्भीर घाइते बनाएर विमान कब्जा गर्ने प्रयास गरेका थिए। आक्रमणपछि विमान केही मिनेटमै हजारौँ फिट तल खसेको थियो।
गम्भीर घाइते अवस्थामा पनि पाइलट स्मित मच्छरले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु र अन्य क्रु मेम्बरको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि विमानलाई साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण (Emergency Landing) गराइयो।
घाइते पाइलट मच्छरको ताबुकस्थित अस्पतालमा उपचारपछि उनलाई यूएई फर्काइसकिएको छ।
कट्टरपन्थी पृष्ठभूमि: अन्तर्राष्ट्रिय सञ्चारमाध्यम (ABC News, CNN, WSJ) का अनुसार सह-पाइलट हमाम अल-हमामीलाई यसअघि नै ओमान एयरले सुरक्षा जोखिम र अतिवादी (कट्टरपन्थी) सोचका कारण उडान गर्न प्रतिबन्ध लगाएको थियो। उनीसँग प्यालेस्टाइन समर्थक सामग्रीसमेत भेटिएको रिपोर्टमा जनाइएको छ।
सुरक्षा व्यवस्थामा प्रश्न: ओमान र इजरायलबिच कूटनीतिक सम्बन्ध छैन। यस्तो अवस्थामा ओमानका नागरिक तथा कट्टरपन्थी पृष्ठभूमिका व्यक्तिले इजरायल जाने संवेदनशील मार्गको उडानमा सह-पाइलटका रूपमा कसरी प्रवेश पाए भन्नेबारे गम्भीर प्रश्न उठेको छ।
इजरायल र यूएईको संयुक्त अनुसन्धान: यूएईको दर्ता रहेको विमान भएकाले कानुनी अधिकार क्षेत्र यूएईकै पर्छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँगको कुराकानीपछि इजरायली गुप्तचर एजेन्सीहरू (मोसाद, शिन बेट) लाई पनि अनुसन्धानमा सहभागी गराइएको बताएका छन्।
अनुसन्धान जारी: आरोपी अल-हमामीलाई साउदी अरबबाट यूएई लगिसकिएको छ, जहाँ उनीमाथि ‘आतंकवादी’ आक्रमणको मुद्दामा डिजिटल तथा भौतिक प्रमाणहरूको विस्तृत अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया