विश्व रेविज दिवसमा बूढानीलकण्ठ–३ मा सडक कुकुरलाई रेविजविरुद्धको खोप, घरपालुवा कुकुर–बिरालो दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०८३, बिहीबार ०६:१२

काठमाडौं। विश्व रेविज दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा सडक कुकुरलाई रेविजविरुद्धको खोप लगाउनुका साथै घरपालुवा कुकुर तथा बिरालोको दर्ता अभियान सञ्चालन गरिएको छ।

बूढानीलकण्ठ नगरपालिका पशु शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थितिमा वडाका विभिन्न टोलमा पुगेर सडक कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको हो। सोही क्रममा घरपालुवा कुकुर तथा बिरालोलाई टोल–टोलमै पुगेर दर्ता गर्ने कार्यसमेत गरिएको छ।

दर्ता भएका कुकुर तथा बिरालोका लागि वडा कार्यालयले निःशुल्क बेल्ट तथा कुकुरको तस्बिर अंकित बोर्डसमेत वितरण गरेको छ।

वडा अध्यक्ष आकाश धितालले रेविज नियन्त्रणसँगै घरपालुवा जनावरको व्यवस्थित दर्ता र नियमित खोपलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताए। उनले घरपालुवा जनावरको संख्या र अवस्थाबारे तथ्यांक व्यवस्थित गर्न सके पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने बताए।

“घरपालुवा कुकुर तथा बिरालो पाल्ने वडावासीले अनिवार्य रूपमा दर्ता गराउनु आवश्यक छ। यसले जनावरको व्यवस्थापनसँगै समुदायको स्वास्थ्य सुरक्षामा समेत सहयोग पुग्छ,” वडा अध्यक्ष धितालले भने।

उनले रेविजजस्तो घातक रोग नियन्त्रणका लागि सडक तथा घरपालुवा दुवै कुकुरमा नियमित खोप आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि पशु स्वास्थ्य तथा जनावर व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताए।

वडा सदस्य बालमाया श्रेष्ठले रेविज रोग नियन्त्रण तथा पशु स्वास्थ्य सुरक्षाका लागि घरपालुवा जनावरको दर्ता र नियमित खोप अत्यन्त आवश्यक रहेको बताइन्।

उनले घरपालुवा कुकुर तथा बिरालो पाल्ने वडावासीलाई समयमै दर्ता गराउन र नियमित रूपमा रेविजविरुद्धको खोप लगाउन आग्रह गरिन्।

“घरपालुवा जनावरको उचित व्यवस्थापनसँगै रेविजजस्तो घातक रोगबाट समुदायलाई सुरक्षित राख्न सबैको सहयोग आवश्यक छ,” वडा सदस्य श्रेष्ठले भनिन्, “घरपालुवा कुकुर तथा बिरालो दर्ता गराउनुहुने सम्पूर्ण वडावासीलाई धन्यवाद व्यक्त गर्दछु।”

उनका अनुसार सडक कुकुरको व्यवस्थापन, रेविज नियन्त्रण तथा घरपालुवा जनावरको दर्तालाई व्यवस्थित बनाउँदै लैजान सके मानव तथा पशु दुवैको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेछ।

वडा कार्यालयले स्थानीयवासीलाई घरपालुवा कुकुर तथा बिरालोको नियमित स्वास्थ्य परीक्षण तथा खोपका लागि सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor