काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारले व्यक्तिगत ‘इगो’ साट्न राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
सोमबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद शाहीले विधि र प्रक्रिया मिचेर गरिने गिरफ्तारीले सरकारकै छवि धुमिल पारिरहेको टिप्पणी गरे।
‘कोही पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन, पक्राउ नै गर्नुहुन्न भन्ने होइन,’ शाहीले भने, ‘तर पक्राउ गर्दा स्पष्ट कानुनी आधार र अदालतको पुर्जी अनिवार्य हुनुपर्छ। प्रमाणबिना मध्यराति ३ बजे समात्नु र पछि छाड्नु बालहठ मात्र हो।’
उनले सरकारले साना विषयमा प्रतिशोध साधे पनि ठूला भ्रष्टाचारका काण्डमा मौन बसेको आरोप लगाए।
‘जीबी राई, वाइडबडी काण्ड, ४जी र एनसेल प्रकरणका दोषीहरू खुला हिँडिरहेका छन्, तर सरकार व्यक्तिगत प्रतिशोधका लागि मात्र शक्ति प्रयोग गरिरहेको छ,’ उनले भने।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसङ्ग उठाउँदै शाहीले यस्ता गतिविधिबाट कानुनी राज्यको उपहास भएको जिकिर गरे। उनले व्यक्तिगत इगो साट्ने कार्यको हिसाब–किताब जनताले माग्ने चेतावनीसमेत दिए।
सांसद शाहीले सरकारलाई सुशासनको मार्गमा अघि बढ्न सुझाव दिँदै भ्रष्टाचारविरुद्ध वास्तविक कदम चाले आफ्नो दलले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया