राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध गाली बेइज्जती मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०८३, मंगलवार ०५:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर भएको छ।

राप्रपा बागमती प्रदेशका सात जना सांसदले अध्यक्ष लिङ्देनविरुद्ध काठमाडौं जिल्ला अदालतमा वारेसमार्फत फिरादपत्र दर्ता गराएका हुन्।

काठमाडौंमा आयोजित पार्टीको सार्वजनिक कार्यक्रममा अध्यक्ष लिङ्देनले आफूहरूको खरिदबिक्री भएको तथा चरित्रहत्या र मानमर्दन हुने गरी अपमानजनक अभिव्यक्ति दिएको भन्दै सांसदहरूले मुलुकी अपराध संहिताअनुसार कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।

मुद्दा दायर गर्नेहरूमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रदेश मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसदहरू मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ रहेका छन्।

फिरादपत्रमा उल्लेख भएअनुसार बागमती प्रदेशमा सरकार गठनका क्रममा राप्रपाका १२ सांसदमध्ये सात जनाले बहुमतका आधारमा नेकपा (एमाले)का किरण थापा मगर नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेका थिए। सोही निर्णयअनुसार राप्रपाका तीन सांसद सरकारमा सहभागी भएका थिए।

आफूहरूको उक्त निर्णयप्रति पूर्वाग्रह राख्दै अध्यक्ष लिङ्देनले थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा आयोजित काठमाडौं जिल्ला समितिको अधिवेशन उद्घाटन कार्यक्रममा अपमानजनक शब्द प्रयोग गरेको सांसदहरूको दाबी छ।

फिरादपत्रमा लिङ्देनले ‘हाम्रा पार्टीका माननीय पार्टी नीतिविपरीत अरू दलको ओछ्यान तताउन गए, भेडाबाख्राजस्तो बिके’ भन्ने अभिव्यक्ति दिएको र उक्त अभिव्यक्ति सञ्चारमाध्यममा समेत सार्वजनिक भएको उल्लेख गरिएको छ।

विशेषगरी महिला सांसद मोनिका श्रेष्ठले आफू महिला जनप्रतिनिधि भएको अवस्थामा ‘अरू दलको ओछ्यान तताउन गएको’ जस्ता शब्द प्रयोग गरी आफ्नो चरित्रहत्या तथा मानमर्दन गरिएको दाबी गरेकी छन्।

सांसदहरूले अध्यक्ष लिङ्देनको उक्त अभिव्यक्ति मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ र ३०६ विपरीत भएको दाबी गर्दै दफा ३०७ (१) र (२) बमोजिम कारबाहीको माग गरेका छन्।

फिरादपत्रमा बेइज्जती गरेको ठहर भएमा कानुनबमोजिम हुने सजायका साथै मनासिब क्षतिपूर्ति र मुद्दामा लागेको सम्पूर्ण खर्चसमेत विपक्षीबाट भराउन माग गरिएको छ।

अब उक्त मुद्दामा अदालतबाट हुने प्रारम्भिक प्रक्रिया तथा दुवै पक्षका कानुनी दाबीका आधारमा विषय अघि बढ्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor