भक्तपुर । निरन्तरको वर्षासँगै मनोहरा खोलामा आएको बाढीका कारण मध्यपुर थिमीको बोडे र काठमाडौंको मूलपानी जोड्ने पुलसँगैको जमिन तथा सडक भासिएपछि उक्त सडकखण्डमा यातायात आवागमन पूर्ण रूपमा रोकिएको छ।
मनोहरा खोलामा आएको बाढीले पुलसँगैको सडक तथा जमिन कटान गरेपछि पुलसमेत जोखिममा परेको भन्दै सुरक्षाका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिएका छन्।
लगातारको वर्षाका कारण भक्तपुरका विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेपछि प्रमुख जिल्ला अधिकारी खड्का र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कासहितको टोलीले मनोहरा, हनुमन्तेलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
अविरल वर्षाका कारण हनुमन्ते, खस्याङ–खुसुङ र गोदावरी खोलाको पानीको सतहसमेत बढेको छ। डेकोचा र पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा समेत खोलाको पानी सडकबाटै बग्न थालेपछि यातायात आवागमन प्रभावित भएको छ।
यसैगरी बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रमा हनुमन्ते खोलाको पानीको सतह बढेर अस्थायी टहरासम्म पुगेपछि प्रहरीले जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ। विस्थापितहरूलाई कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलमा आश्रय दिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी क्षेत्रमा हनुमन्ते, मनोहरा र गोदावरी खोला एकै ठाउँमा जोडिने भएकाले यो क्षेत्र वर्षायाममा बाढी तथा डुबानको जोखिममा पर्ने गरेको छ।
यसैबीच, अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको भक्तपुरको च्यामासिंह–ताथली हुँदै काभ्रेको नाला–बनेपा जोड्ने सडक भने पहिरो पन्छाएपछि पुनः सञ्चालनमा आएको छ। प्रमुख जिल्ला अधिकारी खड्का र जिल्ला प्रहरी प्रमुख खड्काको टोलीको अनुगमनपछि डोजरको सहयोगमा पहिरो हटाएर यातायात सञ्चालन गरिएको हो।
लगातारको वर्षा र खोलाको बहाव बढिरहेको अवस्थामा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा नदी तथा खोलाको किनारमा अनावश्यक रूपमा नजान सुरक्षा निकायले आग्रह गरेको छ।
प्रतिक्रिया