एमालेको वरिष्ठ नेतामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अनुमोदित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८३, शनिबार ०७:०५

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक बिहीबार सम्पन्न भएको छ। बैठकले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय अनुमोदन गरेको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउनेसहित केन्द्रीय सदस्यमा मनोनयन हुने नेताहरूको सूची पारित गरेको थियो। सचिवालयको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो। एमालेको सार्वजनिक निर्णयअनुसार भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनयन गरिएको छ।

पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको पार्टी सदस्यता नवीकरण तथा सक्रिय राजनीतिमा पुनरागमनको विषय लामो समयदेखि एमालेभित्र चर्चामा थियो। पछिल्लो निर्णयसँगै उनलाई पार्टीभित्र औपचारिक जिम्मेवारीसहित वरिष्ठ नेताको भूमिका दिइएको छ।

एमाले सचिव हिक्मत कार्कीले भण्डारीको राजनीतिक तथा सांगठनिक अनुभव पार्टीका लागि उपयोगी हुने बताएका छन्। त्यस्तै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी नेतालाई सदस्यता दिएर मात्र राख्नु उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताइन्।

बैठकपछि सचिव महेश बस्नेतले केन्द्रीय कमिटी बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन्।

बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साथै ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनयन हुन बाँकी सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ।

बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ।

असोज ५ गतेदेखि ललितपुरको भनिमण्डलमा जारी बैठक चार दिनपछि बिहीबार सम्पन्न भएको हो। बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनात्मक कामलाई अघि बढाउने तथा आगामी राजनीतिक कार्यभारमा केन्द्रित हुने विषयमा समेत निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor