देशभर बदली र वर्षा, पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०८३, शुक्रबार ०७:३३

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बंगालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्रका कारण देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था रहने विभागले जनाएको हो।

बंगालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास रहेको छ। उक्त प्रणाली सुरुमा उत्तरपश्चिमतर्फ र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

देशका अधिकांश भूभागमा बदली र वर्षा

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

कोशीदेखि कर्णालीसम्म वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा पनि वर्षा हुने विभागले जनाएको छ।

मधेश प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको जोखिम

विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

तराई क्षेत्रमा हावाहुरीको सम्भावना

वर्षासँगै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ।

मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले यात्रा तथा दैनिक गतिविधिमा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

राति पनि वर्षा जारी रहने

आज राति पनि देशभर अधिकांश बदली रहने पूर्वानुमान छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुनसक्ने विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिममा विशेष सतर्कता

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न, पहाडी क्षेत्रमा पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ। नेपाल मौसम विज्ञान विभागले पनि वर्षा तथा नदीको अवस्था अनुगमन गर्दै बाढीसम्बन्धी चेतावनी सेवा सञ्चालन गरिरहेको छ।

सम्भावित जोखिम भएका क्षेत्रमा सर्वसाधारणलाई मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor