काठमाडौं । महिलाको जीवनमा निश्चित उमेरपछि महिनावारी रोकिनु स्वाभाविक जैविक प्रक्रिया हो। यसलाई मेनोपज अर्थात् महिनावारी सुक्ने अवस्था भनिन्छ। सामान्यतया लगातार १२ महिनासम्म महिनावारी नभएपछि मेनोपज भएको मानिन्छ।
नेपाली महिलामा औसतमा करिब ५० वर्षको उमेरमा मेनोपज हुने गर्छ। तर, शल्यक्रिया गरेर डिम्बाशय निकालिएको अवस्थामा भने त्यसअघि नै मेनोपज हुन सक्छ।
मेनोपजको समयमा शरीरमा हर्मोनको स्तरमा परिवर्तन आउने भएकाले विभिन्न शारीरिक तथा मानसिक समस्या देखिन सक्छन्। अचानक गर्मी महसुस हुने तथा धेरै पसिना आउने, निद्रा नलाग्ने, स्वभावमा परिवर्तन हुने, योनी सुख्खा हुने, पिसाब रोक्न कठिन हुने, यौन चाहनामा कमी आउने, गोप्य अंग पोल्ने वा दुख्ने, चक्कर लाग्ने तथा हिँड्दा सन्तुलन बिग्रिनेजस्ता समस्या देखिन सक्छन्।
हर्मोनको मात्रा कम हुँदै जाँदा कतिपय महिलामा छाला चाउरिने, कपाल झर्नेजस्ता समस्या पनि देखिन सक्छन्। यस्ता लक्षणले कतिपय महिलाको दैनिक जीवन र पारिवारिक सम्बन्धमा समेत असर पार्न सक्छ।
मेनोपजलाई सहज रूपमा सामना गर्न पूर्वतयारी महत्वपूर्ण हुने स्त्रीरोग विशेषज्ञहरू बताउँछन्। महिलाले आफू निश्चित उमेरमा पुगेपछि महिनावारी रोकिने र त्यससँगै शरीरमा केही परिवर्तन आउन सक्ने विषयलाई स्वाभाविक रूपमा बुझ्न आवश्यक हुन्छ।
शारीरिक व्यायाम गर्ने, आफूलाई मन पर्ने काममा व्यस्त रहने, सकारात्मक सोच राख्ने र स्वस्थ जीवनशैली अपनाउने गर्दा मेनोपजका कतिपय लक्षण कम गर्न सकिने विशेषज्ञहरूको सुझाव छ। खानपानमा समेत ध्यान दिन आवश्यक हुन्छ। धेरै गुलियो तथा चिल्लो खानेकुरा कम गर्ने, भटमासबाट बनेका परिकार, सागपात तथा पौष्टिक खानेकुरा खाने, पर्याप्त पानी पिउने र दूध सेवन गर्ने जस्ता बानीले स्वास्थ्यलाई सहयोग गर्न सक्छ।
मेनोपजका क्रममा महिलामा आउने परिवर्तनलाई परिवारले समेत बुझ्नुपर्ने विशेषज्ञहरूको भनाइ छ। विशेषगरी श्रीमान् तथा परिवारका सदस्यले महिलाको व्यवहारमा आएको परिवर्तनलाई नकारात्मक रूपमा नलिई सहयोग र हौसला दिन आवश्यक हुन्छ।
“महिलाको महिनावारी सुक्न सुरु भएको विषय श्रीमान्ले सबैभन्दा पहिला बुझ्नुपर्छ। यो समयमा महिलाहरू यौनसम्पर्कका लागि तयार नहुन सक्छन्। स्वभावमा परिवर्तन आउन सक्छ, चिन्ता गर्ने, रिसाउने, झर्किने, रुने वा कराउने जस्ता व्यवहार देखिन सक्छन्। त्यसैले यस्तो अवस्थामा परिवार र श्रीमान्ले मानसिक रूपमा सान्त्वना र हौसला दिनुपर्छ,” स्त्रीरोग विशेषज्ञ गौतमले बताउँछन्।
उनका अनुसार मेनोपज आफैंमा रोग होइन र सबै महिलालाई औषधि आवश्यक पर्दैन। तर, मेनोपजका लक्षणले दैनिक जीवनमा उल्लेखनीय असर गरिरहेको अवस्थामा चिकित्सकीय परामर्श लिएर उपचार गर्न सकिन्छ।
हर्मोन रिप्लेसमेन्ट थेरापीले हट फ्ल्यास, राति धेरै पसिना आउनेलगायत केही लक्षणमा राहत दिन सक्ने भए पनि यो सबै महिलाका लागि उपयुक्त नहुन सक्छ। त्यसैले आफ्नो स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे चिकित्सकसँग परामर्श गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने विशेषज्ञहरूको सुझाव छ।
मेनोपजका कारण मानसिक तथा शारीरिक समस्या बढ्दै गएको अवस्थामा कतिपय महिलाले मानसिक स्वास्थ्य विशेषज्ञसँग समेत परामर्श लिने गरेका छन्। तर, मेनोपज मुख्यतः स्त्रीरोगसँग सम्बन्धित प्राकृतिक अवस्था भएकाले आवश्यकताअनुसार स्त्रीरोग विशेषज्ञबाट मूल्यांकन तथा उपचार गराउनु महत्वपूर्ण हुन्छ।
विशेषज्ञका अनुसार मेनोपजका कारण दैनिक जीवनयापनमै असर पर्ने गरी समस्या देखिएमा त्यसलाई सामान्य ठानेर बस्नु हुँदैन। स्वास्थ्य संस्था तथा चिकित्सकसँग परामर्श लिएर उपचारका विकल्पबारे जानकारी लिनुपर्छ।
मेनोपजसम्बन्धी सही जानकारी र जनचेतना विस्तार गर्न स्वास्थ्य संस्था, चिकित्सक, सञ्चारमाध्यम, सामाजिक संघसंस्था तथा राज्यका सम्बन्धित निकायको भूमिका महत्वपूर्ण हुने विशेषज्ञहरूको भनाइ छ। महिलाले मेनोपजलाई लुकाउनुपर्ने वा डराउनुपर्ने अवस्था नभई बुझेर व्यवस्थापन गर्न सकिने प्राकृतिक जीवनचक्रका रूपमा लिनुपर्ने उनीहरूको सुझाव छ।
गौतम प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।
प्रतिक्रिया