काठमाडौं । असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै बुढानीलकण्ठ नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राखेको छ।
भारी वर्षासँगै बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नगरप्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको तयारी बैठकले विपद्का बेला आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, जनशक्ति, एम्बुलेन्स तथा अन्य अत्यावश्यक स्रोतसाधन तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
सम्भावित विपद्का कारण हुने चोटपटक तथा स्वास्थ्य समस्यासँगै झाडापखाला, हैजा, टाइफाइड र डेंगीजस्ता पानीजन्य तथा कीटजन्य रोगको जोखिम न्यूनीकरणका लागि नगरभित्रका स्वास्थ्य संस्थालाई समेत सतर्क अवस्थामा राखिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले विपद्को समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन द्रुत प्रतिकार्य टोली परिचालन, बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित अस्पतालमा प्रेषण गर्ने व्यवस्था तथा एम्बुलेन्स सेवाको प्रभावकारी परिचालनमा जोड दिएको छ। त्यसैगरी गर्भवती तथा सुत्केरी महिलाको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
नगरप्रमुख मिठाराम अधिकारीले विपद् आएपछि मात्र तयारी गर्नेभन्दा सम्भावित जोखिमको पूर्वानुमान गरेर स्वास्थ्य सेवा र आवश्यक स्रोतसाधन पहिले नै तयारी अवस्थामा राख्नुपर्ने बताए।
“भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या आउन सक्छन्। त्यसैले नगरवासीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर औषधि, स्वास्थ्य सामग्री, जनशक्ति र एम्बुलेन्सलगायतका आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखेका छौं,” नगरप्रमुख अधिकारीले भने।
उनले विपद्को समयमा सबैभन्दा महत्वपूर्ण कुरा समयमै सूचना, तत्काल उद्धार र प्रभावकारी स्वास्थ्य सेवा भएकाले सम्बन्धित सबै निकायबीच समन्वयलाई थप प्रभावकारी बनाइने बताए। नगरवासीलाई समेत मौसमको अवस्था र जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन उनले आग्रह गरे।
नगरपालिकाले सम्भावित विपद्को समयमा स्वास्थ्यसम्बन्धी सूचना तथा जानकारीलाई छिटो र प्रभावकारी रूपमा प्रवाह गर्ने, जोखिममा रहेका नागरिकको पहिचान गर्ने तथा आवश्यक परे तत्काल स्वास्थ्य टोली परिचालन गर्ने तयारीसमेत गरेको छ।
भारी वर्षाको समयमा दूषित पानी तथा खानाबाट हुने रोगबाट बच्न सुरक्षित पानीको प्रयोग, सरसफाइमा ध्यान दिन तथा लामखुट्टेको टोकाइबाट जोगिन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ। साथै, जोखिमपूर्ण स्थानमा अनावश्यक आवतजावत नगर्न र आकस्मिक स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकाले विपद् व्यवस्थापनसँगै स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर समन्वय गर्ने जनाएको छ।
प्रतिक्रिया