काठमाडौं । आगामी असोज ९ गतेदेखि हुन सक्ने भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि सरकारले ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा भएको बैठकमा सम्भावित वर्षाको अवस्था, उच्च जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वसूचना प्रणाली, खोज तथा उद्धारको तयारी र जोखिमका आधारमा सवारी आवागमन नियन्त्रण वा बन्द गर्नेसम्मका विषयमा छलफल भएको हो।
बैठकमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल पर्यटन बोर्ड र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिको सहभागिता थियो। काठमाडौं उपत्यकाबाहेकका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेका क्षेत्रमा पूर्ण सतर्कता अपनाउन तथा खोज, उद्धार र राहतका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै पूर्वसूचना पुर्याउने, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने र जोखिमअनुसार यातायात व्यवस्थापन गर्ने तयारी गरिएको छ।
सरकारले सर्वसाधारणलाई आधिकारिक मौसम तथा विपद्सम्बन्धी सूचना पालना गर्न र भारी वर्षाका बेला नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया