गृहमन्त्रीको निर्देशनपछि काठमाडौंमा ‘स्वीप अपरेशन’, ५८ विदेशी नागरिक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८३, बुधबार ०६:०५

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि काठमाडौं उपत्यकामा सञ्चालन गरिएको विशेष ‘स्वीप अपरेशन’का क्रममा ५८ जना विदेशी नागरिक पक्राउ परेका छन्।

सोमबार राति नेपाल प्रहरीका विभिन्न उच्चस्तरीय युनिटले संयुक्त रूपमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कमाण्डमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतका टोली परिचालन गरिएको थियो। टोलीले रातभर विभिन्न स्थानमा छापा मारेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा २० जना चिनियाँ नागरिक रहेका छन् भने अन्य बंगलादेश, कोरिया लगायत विभिन्न मुलुकका नागरिक रहेको बताइएको छ।

यसअघि सोमबार दिउँसो गृहमन्त्री गुरुङले सीआईबी प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदीलाई काठमाडौं उपत्यकामा अवैध तथा संदिग्ध गतिविधिमा संलग्न विदेशी नागरिकमाथि निगरानी बढाउँदै कडा कारबाही गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि सीआईबीको नेतृत्वमा संयुक्त प्रहरी टोली परिचालन गरिएको हो।

पक्राउ परेका विदेशी नागरिकहरू कुन–कुन अवैध वा आपराधिक गतिविधिमा संलग्न थिए भन्नेबारे प्रहरीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन। उनीहरूको भिसा अवस्था, नेपाल बसाइको उद्देश्य तथा सम्भावित संदिग्ध गतिविधिबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor