जेन–जी सहिद परिवार र गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८३, बुधबार ०५:५५

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले २०८३ असोज ५ गते स्वीकृत गरेको ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ अनुसार सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई यो सुविधा उपलब्ध हुनेछ।

मापदण्डअनुसार आधारभूत तह कक्षा १ देखि ८ सम्मका लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक, पाठ्यपुस्तक तथा सिकाइ सामग्रीका लागि नगद अनुदान स्थानीय तहमार्फत उपलब्ध गराइनेछ। माध्यमिक तह कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पनि तोकिएबमोजिम निःशुल्क शिक्षा तथा शैक्षिक सामग्रीसम्बन्धी सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

त्यसैगरी, स्नातक तह अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षित गर्नुपर्नेछ। आरक्षित कोटामा छनोट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मापदण्डमा गरिएको छ।

संस्थागत अर्थात् निजी विद्यालयहरूले समेत प्रचलित कानुनअनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेका लाभग्राहीलाई समावेश गर्नुपर्नेछ।

यो सुविधा लिन आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले सम्बन्धित विद्यालयमार्फत स्थानीय तहमा आवेदन दिनुपर्नेछ। स्नातक तहका विद्यार्थीले भने सम्बन्धित क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

आवेदनसँग लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित गर्ने कागजात तथा अध्ययनरत शैक्षिक संस्थाको सिफारिसपत्र पेस गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार मापदण्डको उद्देश्य जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्दै आधारभूत तहदेखि स्नातक तहसम्म अध्ययनको अवसर उपलब्ध गराउनु हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor