बुढानीलकण्ठमा डेंगी नियन्त्रण तथा जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०८३, मंगलवार ०५:५९

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य महाशाखाको आयोजनामा डेंगी संक्रमण नियन्त्रण तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हात्तीगौंडामा डेंगीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, स्वास्थ्य अधिकृत रेवती कार्कीलगायत स्वास्थ्य शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा डेंगी संक्रमणबाट बच्ने उपाय, लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने तरिका तथा घर, टोल र समुदायमा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो। विशेषगरी घर तथा आसपास पानी जम्न नदिने, पानी राख्ने भाँडा, ट्याङ्की, गमला, टायरलगायतका स्थान नियमित रूपमा सफा राख्न नागरिकलाई आग्रह गरिएको थियो।

स्वास्थ्यकर्मीहरूले डेंगी नियन्त्रणका लागि लामखुट्टेको बासस्थान र प्रजननस्थल नष्ट गर्नु सबैभन्दा प्रभावकारी उपायमध्ये एक भएकाले नगरवासी स्वयं सचेत र सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।

नगरपालिकाले डेंगी नियन्त्रणलाई केवल स्वास्थ्य संस्थाको जिम्मेवारीका रूपमा नभई नागरिक, समुदाय र स्थानीय सरकारको साझा अभियानका रूपमा अघि बढाउने जनाएको छ। यसका लागि टोल–टोलमा जनचेतनामूलक गतिविधि, सरसफाइ तथा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सम्भावित डेंगी संक्रमणको जोखिम न्यूनीकरण गर्न नगरवासीलाई आफ्नो घर, कार्यालय तथा सार्वजनिक स्थान वरपर पानी जम्न नदिई नियमित सरसफाइ गर्न र डेंगी नियन्त्रण अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor