ओलीको राजीनामाको प्रसंग हटाएर एमालेको पुनर्गठन प्रतिवेदन, पौडेल–पोखरेल असहमत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०८३, आईतवार ०७:१२

काठमाडौं । नेकपा (एमाले)को पार्टी पुनर्गठन तथा चुनावी समीक्षा कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार गरेको छ।

कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले प्रस्तुत गरेको परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत, कार्यशैलीगत, व्यवहारगत र आचरणगत सुधारका विषयलाई प्राथमिकता दिइएको छ। प्रतिवेदनमा ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षसमेत उल्लेख गरिएको छ।

तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले ओलीले पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने आफ्नो अडानबाट पछि नहटेको बताइएको छ। उनीहरूले आगामी कार्यदल, सचिवालय तथा केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने तयारी गरेका छन्।

कार्यदलमा आएको परिमार्जित प्रतिवेदनमा निर्वाचनमा पार्टीले व्यहोरेको पराजय, संगठनको पुनर्गठन, कार्यशैली सुधार, जनतासँगको सम्बन्ध विस्तार तथा नेता–कार्यकर्ताको आचरण सुधारलगायत विषय समेटिएका छन्।

कार्यदल सदस्य यामलाल कँडेलले प्रतिवेदन पेस भए पनि त्यसबारे अध्ययन र छलफल बाँकी रहेको बताएका छन्। कार्यदल सदस्य लीलानाथ श्रेष्ठका अनुसार प्रतिवेदनमाथि छलफल गरी पारित गरेपछि सचिवालय हुँदै केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ।

यसैबीच, एमाले अध्यक्ष ओलीले शनिबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आफूलाई कमजोर बनाउने वा पार्टी विभाजन गर्ने प्रयास सफल नहुने बताएका छन्। उनले आफूलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै भने, ‘केपी ओली शरशय्यामा ढलेको छैन, खडा छ, फेरि पनि मैदानमा छ।’

ओलीले पार्टी विभाजन र नेतृत्व परिवर्तनबारे भइरहेका चर्चाप्रति टिप्पणी गर्दै एमाले आफ्नै बाटोमा अघि बढ्ने दाबी गरे। उनले आफ्नो राजनीतिक जीवनमा धेरै संघर्ष सामना गर्दै आएको उल्लेख गर्दै आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता र आगामी कार्यदिशाबारे स्पष्ट संकल्पसहित अघि बढ्ने बताए।

अब परिमार्जित प्रतिवेदनमाथि कार्यदलको छलफलपछि सचिवालय र केन्द्रीय कमिटी बैठकमा हुने बहसले एमालेभित्रको पुनर्गठन र नेतृत्वसम्बन्धी विवादलाई कुन दिशामा लैजान्छ भन्ने विषयमा ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor