काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।
न्युयोर्कमा रहँदा परराष्ट्रमन्त्री खनालले विभिन्न देशका समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ। उनले अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा जी–७७ एन्ड चाइनालगायतका मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउने कार्यक्रम छ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डल भने सेप्टेम्बर २२ मा न्युयोर्क प्रस्थान गर्नेछ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सामान्य बहसलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।
यसपटकको महासभाको उच्चस्तरीय सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ। महासभाको मूल विषय ‘Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All’ रहेको छ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभाका क्रममा नेपालको समसामयिक प्राथमिकता तथा अन्तर्राष्ट्रिय चासोका विषयमा उच्चस्तरीय भेटवार्ता गर्नेछन्।
यसपटक नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरेको छ। नेपालले ‘Sagarmatha to the Sea: A Call to Action for a Climate-Resilient Future’ विषयमा साइड इभेन्ट आयोजना गर्दैछ। भोटेकोशी बाढीबाट नेपालले भोगेको क्षतिलाई समेत जलवायु संकटसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गरी विभिन्न उच्चस्तरीय कार्यक्रम तथा द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछन्।
महासभामा नेपालको सहभागितालाई बहुपक्षीय कूटनीति, अन्तर्राष्ट्रिय सहकार्य, जलवायु न्याय तथा नेपालको राष्ट्रिय प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा सरकारले लिएको छ।
प्रतिक्रिया