काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आगामी ६ असोजमा न्युयोर्क जाने भएका छन्। प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाहले ९ असोजमा महासभालाई सम्बोधन गर्नेछन् भने १० असोजमा स्वदेश फर्कने कार्यक्रम छ। छोटो भ्रमण भएकाले उनको अन्य द्विपक्षीय भेटवार्ताको कार्यक्रम नरहेको परराष्ट्र स्रोतले जनाएको छ।
यसपटक प्रधानमन्त्रीको सम्बोधनमा भोटेकोशी बाढी तथा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, जलवायु न्याय, क्षतिपूर्ति, जलवायु वित्त तथा जलवायुमैत्री पूर्वाधारका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय उठाइनेछ। नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असर बढी भोगिरहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चस्तरीय प्रतिनिधिमण्डल न्युयोर्क जानेछ। खनालले भने महासभाका क्रममा विभिन्न उच्चस्तरीय तथा मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुका साथै विभिन्न देशका समकक्षी र संयुक्त राष्ट्रसंघका अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपालले महासभाका क्रममा ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आह्वान’ विषयक कार्यक्रमसमेत आयोजना गर्नेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी नहुने र परराष्ट्रमन्त्री खनालले नेतृत्व गर्ने बताइएको छ।
यस वर्षको महासभाको उच्चस्तरीय छलफल २२ देखि २८ सेप्टेम्बरसम्म न्युयोर्कमा हुँदैछ। महासभाको ८१औँ सत्रको मूल विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ रहेको छ।
प्रतिक्रिया