काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। सेनाले हवाई तथा जमिन दुवै माध्यमबाट उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हवाई साधनमार्फत हालसम्म ४ हजार १८७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९०८ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका सुरुङ (टनेल) तथा पावरहाउस क्षेत्रमा सेनाले विशेष खोजी अभियान सञ्चालन गरिरहेको छ। माथिल्लो त्रिशूली–१ को टनेलभित्र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा फेला परेका शव तथा मानव अङ्गहरू निकाल्ने कार्य गरिरहेको छ।
त्यस्तै, त्रिशूली–थ्री ‘ए’ को टनेल तथा पावरहाउस क्षेत्रमा पनि खोजी भइरहेको छ। त्रिशूली–थ्री ‘बी’ को पावरहाउस क्षेत्रमा तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन भइरहेको छ। हालसम्म कुनै शव वा मानव अवशेष फेला नपरे पनि खोजी कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। सेनाका टोलीले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी र अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने कार्य गरिरहेका छन्।
रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका क्षेत्रमा अस्थायी बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूह परिचालन गरिएको छ।
सडक सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्र तथा साँघुरा टनेलहरूमा ड्रोन प्रविधिको प्रयोग गरी रेकी गर्ने तथा आवश्यक राहत सामग्री ढुवानी गर्ने काम पनि भइरहेको सेनाले जनाएको छ। प्रभावित परिवारलाई धार्मिक संस्कार तथा श्रद्धाञ्जलीका कार्यमा आवश्यक सहजीकरण गर्नुका साथै भावनात्मक सहयोग र जलविद्युत् आयोजनाका उपकरण ढुवानीमा समेत सेनाले सहयोग गरिरहेको छ।
यसैगरी, नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत थप २८ जनाको उपचार गरिएको छ। यससँगै सेनाबाट उपचार सेवा लिनेको सङ्ख्या ३ हजार ९६६ पुगेको छ।
बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित शीतल बजारको सडक खुलाउने प्रयास पनि जारी छ। सडक सञ्चालनका लागि सेनाको टोली परिचालित रहेको छ।
यस्तै, बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहितका सुरक्षा निकायले कामलाई तीव्रता दिएका छन्। बाढीका कारण अवरुद्ध यातायात तथा आवागमन पुनः सञ्चालनमा ल्याउने उद्देश्यले सुरक्षा निकायले उद्धारसँगै पूर्वाधार पुनःस्थापनाको कामलाई पनि अघि बढाएका छन्।
प्रतिक्रिया