काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठन कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कार्यदलमा अल्पमतमा परे बैठक नै स्थगित गरेर काठमाडौं फर्किन निर्देशन दिएको स्रोतले जनाएको छ।
काभ्रेको बल्थलीस्थित एक होटलमा दुई दिनदेखि जारी पुनर्गठन कार्यदलको बैठकमा ओलीले बादललाई टेलिफोनमार्फत विशेष महाधिवेशन तथा प्रतिनिधि परिषद्का विषयमा सहमति नगर्न निर्देशन दिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार ओलीले भनेका थिए, “विशेष महाधिवेशन र प्रतिनिधि परिषद्मा सहमति नगर्नू। गर्नुपर्ने अवस्था आए बैठक क्यान्सिल गरेर काठमाडौं फर्किहाल्नू।”
कार्यदलमा दुई प्रतिवेदन, विवाद चर्कियो
महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनलाई कार्यदलका बहुसंख्यक सदस्यको समर्थन देखिएपछि ओली पक्ष दबाबमा परेको बताइएको छ। अर्कोतर्फ कार्यदल संयोजक बादलले प्रस्तुत गरेको प्रतिवेदन अल्पमतमा परेपछि बैठकमा विवाद चर्किएको स्रोतको भनाइ छ।
दुवै प्रतिवेदनका विषयमा सहमति जुट्न नसकेपछि कार्यदलको बैठक असोज १ गतेसम्मका लागि स्थगित गरिएको छ।
अन्तिम मस्यौदा तयार गर्न तीन सदस्यीय समिति
बैठकले दुवै प्रतिवेदनमा उठाइएका विषय तथा कार्यदलका सदस्यहरूले दिएका सुझावलाई समेटेर अन्तिम मस्यौदा तयार गर्न तीन सदस्यीय सम्पादन समिति गठन गरेको सचिव राजन भट्टराईले जानकारी दिए।
सम्पादन समितिको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सदस्यमा उपाध्यक्ष विष्णु पौडेल तथा सदस्यसचिवमा महासचिव शंकर पोखरेल रहेका छन्।
सचिव महेश बस्नेतले पनि कार्यदलमा प्रस्तुत दुवै मस्यौदा तथा बैठकका क्रममा सदस्यहरूले दिएका सुझावलाई समेटेर अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी दिइएको बताएका छन्।
सम्पादन समितिले अन्तिम मस्यौदा तयार गरेपछि असोज १ गते पुनर्गठन कार्यदलको बैठक बस्ने तयारी गरिएको छ। उक्त बैठकमा अन्तिम मस्यौदामाथि छलफल गरी विवादित विषयमा सहमति जुटाउने प्रयास गरिने बताइएको छ।
प्रतिक्रिया