काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
हिसानले शुक्रबार सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम हस्तान्तरण गरेको हो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा हिसानका अध्यक्ष युवराज शर्मा, वरिष्ठ उपाध्यक्ष प्रा. डा. स्वागत श्रेष्ठ, उपाध्यक्ष ऋषि तिवारी, उपाध्यक्ष वीरेन्द्र जयना, महासचिव रामहरि सिलवाल, सचिव भवानीप्रसाद पौडेल, कोषाध्यक्ष शिवप्रसाद अधिकारी, हिसान काठमाडौं जिल्ला अध्यक्ष गोपी पराजुलीलगायत पदाधिकारी तथा प्रतिनिधिको सहभागिता थियो।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थासमेत प्रभावित भएका छन्। बाढी तथा पहिरोका कारण विद्यालय भवन, शैक्षिक सामग्री तथा अन्य भौतिक संरचनामा क्षति पुगेको हिसानले जनाएको छ।
हिसानले विपद्को अवस्थामा सरकारको खोज तथा उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउन उक्त आर्थिक सहायता प्रदान गरिएको जनाएको छ। साथै, विपद्का कारण शिक्षा प्रभावित भएका विद्यार्थीलाई पुनः अध्ययनमा फर्काउन तथा उनीहरूको शिक्षालाई निरन्तरता दिन आवश्यक सहयोगमा समेत ध्यान दिनुपर्ने हिसानको भनाइ छ।
विपद्मा निजी शिक्षा क्षेत्रको सामाजिक दायित्व
हिसानले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्को समयमा निजी क्षेत्र राज्य र समुदायसँगै उभिनुपर्ने धारणा व्यक्त गरेको छ।
शिक्षण संस्थालाई केवल नाफामुखी संस्थाका रूपमा हेर्न नहुने भन्दै हिसानले शिक्षा प्रत्यक्ष रूपमा समाज र समुदायको विकाससँग जोडिएको क्षेत्र भएकाले मानवीय संकटका बेला शैक्षिक संस्थाहरूको सामाजिक तथा सेवामूलक जिम्मेवारीसमेत हुने जनाएको छ।
३ करोड रुपैयाँको सहयोगले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाढी प्रभावित विद्यार्थीको शिक्षा मुख्य चिन्ता
हिसानले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शैक्षिक अवस्थालाई विशेष प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। बाढीका कारण धेरै विद्यार्थीको पढाइ प्रभावित हुनुका साथै कतिपय परिवारले आर्थिक कठिनाइसमेत व्यहोर्नुपरेको छ।
प्रभावित विद्यार्थीलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको पढाइ पुनः सञ्चालन र निरन्तरताका लागि सरकार, निजी क्षेत्र तथा शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको हिसानले जनाएको छ।
हिसानका अनुसार विपद्पछिको शिक्षा क्षेत्रको जिम्मेवारी राहत वितरणमा मात्र सीमित हुनुहुँदैन। प्रभावित विद्यालय पुनः सञ्चालन, क्षतिग्रस्त शैक्षिक पूर्वाधारको पुनर्निर्माण, विद्यार्थीलाई सुरक्षित वातावरणमा अध्ययन गर्ने अवस्था सिर्जना तथा अवरुद्ध पठनपाठनलाई नियमित बनाउने विषयलाई समेत पुनःस्थापना योजनाको प्राथमिकतामा राखिनुपर्छ।
भोटेकोशी बाढीपछि विभिन्न निजी तथा आवासीय विद्यालयसँग सम्बन्धित संघ–संस्थाले समेत राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्। यसैक्रममा हिसानको ३ करोड रुपैयाँ सहयोग निजी शिक्षा क्षेत्रको राष्ट्रिय विपद् प्रतिकार्यमा महत्वपूर्ण सहभागिताका रूपमा देखिएको छ।
हिसानले यो पहलले शैक्षिक संस्थाहरूको सामाजिक दायित्वलाई थप स्पष्ट पार्नुका साथै विपद्का बेला विद्यार्थी, परिवार र समुदायको संरक्षण तथा पुनःस्थापनामा शिक्षा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने सन्देश दिएको जनाएको छ।
प्रतिक्रिया