काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार आज शनिबारदेखि सुरु भएको छ। पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ।
कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा बिहान कागलाई यमराजको दूतका रूपमा पूजा गरी मीठा खानेकुरा खुवाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा आज काग तिहार मनाउने निर्णय गरिएको हो।
धार्मिक मान्यताअनुसार यमराजले कागका माध्यमबाट लोकको खबर थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मानिन्छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने कामनासहित पूजा गरेर मीठो खानेकुरा दिने चलन रहेको छ। घरआँगनमा काग आएर कराएमा शुभ खबर ल्याएको विश्वास गर्ने लोकपरम्परा पनि छ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो। परिवारका सदस्यका नाममा यमदीपदान गर्ने क्रम पनि शुक्रबार साँझदेखि सुरु भएको छ। वैदिक परम्पराअनुसार यमदीप दक्षिण फर्काएर बाल्ने चलन छ। यमदीपदान गरे यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।
यसअघि शुक्रबार नै धनतेरस पर्व मनाइएको थियो। धनतेरसका दिन गरगहना तथा तामाका भाँडाकुँडा किन्दा घरमा लक्ष्मी स्थिर रहने धार्मिक मान्यता छ।
प्रतिक्रिया