काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा नेपालका तर्फबाट जलवायु परिवर्तन, जलवायु न्याय तथा क्षतिपूर्तिसहित पाँच प्रमुख एजेन्डा उठाउने भएका छन्।
प्रधानमन्त्री शाहले ९ असोज (न्युयोर्क समयअनुसार सेप्टेम्बर २४) मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह ६ असोजमा न्युयोर्क प्रस्थान गर्नेछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल ३ असोजमै न्युयोर्क जानेछन्।
परराष्ट्रसचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको प्राकृतिक विपद्, जनधनको क्षति तथा जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्। नेपालले विश्वमा अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको विषयलाई समेत उनले अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तयारी छ।
प्रधानमन्त्री शाहले जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाउँदै नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिबापत तत्काल र उचित क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिनेछन्।
नेपालले जलवायुजन्य क्षतिबापत दुई करोड अमेरिकी डलर क्षतिपूर्तिका लागि यसअघि नै पत्राचार गरिसकेको छ। सरकारी अधिकारीहरूका अनुसार लस एन्ड ड्यामेज फन्डबाट यस विषयमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
त्यस्तै, जलवायुअनुकूल पूर्वाधार निर्माण, जलवायु स्मार्ट कृषि प्रवद्र्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन विकसित तथा धनी मुलुकहरूलाई प्रधानमन्त्री शाहले आग्रह गर्नेछन्।
नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र तथा बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानलाई समेत महासभामा प्रस्तुत गर्ने तयारी गरिएको छ।
परराष्ट्रसचिव राईले महासभा नेपालका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भाव थप विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।
उनका अनुसार नेपालमा गत वर्ष भएको जेन–जी आन्दोलन, त्यसपछि भएको निर्वाचन र त्यसबाट ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकतालगायत विषय पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ।
महासभाको अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आह्वान’ शीर्षकमा छुट्टै बैठकसमेत आयोजना गर्ने भएको छ।
उक्त बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण विशेषगरी हिमाली क्षेत्रमा परेको प्रभाव तथा त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गरिनेछ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु बैठकको मुख्य उद्देश्य रहेको परराष्ट्रसचिव राईले बताएका छन्।
यसपटक प्रधानमन्त्री शाहको नेतृत्वमा १६ सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ। परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री शाहसँग ११ जना र परराष्ट्रमन्त्री शिशिर खनालसँग पाँचजना गरी १६ जना प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार तथा परराष्ट्रसचिव अमृतबहादुर राई पनि प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्। प्रधानमन्त्री शाहले महासभाका क्रममा विभिन्न मुलुकका सरकारप्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको परराष्ट्रसचिव राईले बताएका छन्।
यसपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङ महासभामा सहभागी नहुने भएका छन्। भारतबाट विदेशमन्त्री डा. एस. जयशंकर तथा चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हान झेङ सहभागी हुनेछन्।
महासभाको यस वर्षको मूल विषय ‘विश्वासको पुनर्वहाली, रूपान्तरण व्यवस्थापन तथा सबैलाई परिणाम दिने संयुक्त राष्ट्रसंघ’ तय गरिएको छ।
१. जलवायु परिवर्तन र त्यसबाट सिर्जित प्राकृतिक प्रकोपका कारण नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने।
२. नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने।
३. लस एन्ड ड्यामेज फन्डलगायतका संयन्त्रबाट नेपालले जलवायुजन्य क्षतिबापत तत्काल र उचित क्षतिपूर्ति प्राप्त गर्नुपर्ने विषयमा विश्व समुदायलाई आह्वान गर्ने।
४. जलवायुअनुकूल पूर्वाधार, जलवायु स्मार्ट कृषि तथा क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन विकसित मुलुकहरूलाई अपिल गर्ने।
५. प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षण तथा प्रवद्र्धनमा पुर्याउँदै आएको योगदानबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने।
प्रतिक्रिया