काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो पछिल्लो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि राष्ट्रिय सभामै उपस्थित भएर माफी मागेकी छिन्।
कानून निर्माणका क्रममा राष्ट्रिय सभाले असहयोग गरेको आशय झल्किने गरी दिएको अभिव्यक्तिको विरोध भएपछि मन्त्री गौतम बिहीबार राष्ट्रिय सभाको बैठकमा उपस्थित भएकी हुन्।
गत मंगलबार आयोजित ‘जेनजी स्मृति दिवस’ का अवसरमा बोल्दै मन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा बाधा पुगिरहेको अभिव्यक्ति दिएकी थिइन्।
उनको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सदनसम्मै चर्को आलोचना भएको थियो। राष्ट्रिय सभाका सदस्यहरूले समेत मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्टिकरण र माफीको माग गरेका थिए।
राष्ट्रिय सभाको बैठकमा आफ्नो धारणा राख्दै मन्त्री गौतमले आफूले राष्ट्रिय सभाले असहयोग गरेको भनेर नबोलेको स्पष्ट पारिन्।
उनले भनिन्, “मैले राष्ट्रिय सभाले कहीँ–कतै असहयोग गर्यो भनेर त्यस्तो भाषा वा शब्द प्रयोग गरेकी छैन। त्यो माननीयज्यूहरूले पनि हेर्न सक्नुहुन्छ।”
मन्त्री गौतमले आफू राजनीतिक व्यक्ति भएकाले आफ्ना अभिव्यक्तिलाई सञ्चारकर्मी तथा सामाजिक विश्लेषकहरूले विभिन्न कोणबाट व्याख्या गरेको बताइन्।
उनले भनिन्, “तर मैले भनेका कुरा र बोलेका तथ्यका आधारमा, म एक राजनीतिक व्यक्ति भएकाले सञ्चारकर्मी तथा सामाजिक विश्लेषकहरूले विभिन्न अर्थ लगाएर सामाजिक सञ्जालमा प्रसङ्गसहितका व्याख्याहरू प्रस्तुत गरेको देखिएको छ।”
आफ्नो अभिव्यक्तिका कारण राष्ट्रिय सभाका सदस्य तथा सम्बन्धित पक्षमा पर्न गएको असहजताप्रति उनले माफी मागेकी हुन्। मन्त्री गौतमको माफीसँगै उनको अभिव्यक्तिलाई लिएर उत्पन्न विवाद केही मत्थर हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया