काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री साहले सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साहलाई तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले मन्त्री पदमा नियुक्त गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री साहले निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग समेत छलफल गरेर मन्त्रालयका आगामी योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने बताए।
उनले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै विद्यमान समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढ्ने संकेत गरेका छन्।
हाल बजारमा देखिएको खाना पकाउने ग्यासको अभावबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री साहले मन्त्रालयका कर्मचारी तथा निवर्तमान मन्त्री यादवसँग आवश्यक छलफल गरी समस्या समाधानका लागि तत्काल पहल थाल्ने बताए।
उनले उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकतामध्ये एक रहेको संकेत गरे।
पदभार ग्रहणलगत्तै मन्त्री साहले मन्त्रालयका कर्मचारीसँग छलफल सुरु गरेका छन्। मन्त्रालयमा देखिएका समस्या, आपूर्ति व्यवस्थाको अवस्था तथा तत्काल गर्नुपर्ने कामबारे कर्मचारीसँग जानकारी लिँदै उनले आगामी कार्यदिशाका विषयमा छलफल अघि बढाएका छन्।
प्रतिक्रिया