काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापनसँगै सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति पौडेलले भौगोलिक विकटतालाई समेत ध्यानमा राख्दै सडक यातायात तत्काल सञ्चालन गर्न सरकारले आफ्नो क्षमताले मात्र नभ्याउने अवस्था भए ठूला बेलिब्रिजलगायतका आवश्यक पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनुपर्ने सुझाव दिएका छन्।
त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको उचित क्षतिपूर्ति प्राप्त गर्ने विषयलाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउन पनि उनले प्रधानमन्त्रीमार्फत पहल गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अवस्था तथा उद्धार, राहत, पुनःस्थापना र भौतिक संरचना पुनर्निर्माणका विषयमा छलफल गरेका हुन्।
अल्पकालीनदेखि दीर्घकालीन योजनासम्म जोड
भेटका क्रममा राष्ट्रपति पौडेलले आफूले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा नागरिकको पीडा तथा बाढीबाट भएको व्यापक क्षति प्रत्यक्ष रूपमा देखेको उल्लेख गरे।
उनले प्रभावित नागरिकको बसोबास व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई केवल तत्कालीन आवश्यकतामा सीमित नगरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका आधारमा अघि बढाउनुपर्ने बताए।
बाढीका कारण प्रभावित क्षेत्रको जनजीवन अझै कठिन अवस्थामा रहेकाले नागरिकको दैनिक जीवन सहज र सामान्य बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राख्न उनले सरकारलाई आग्रह गरेका छन्।
दसैँअघि सडक सञ्चालन गर्ने तयारी
राष्ट्रपति पौडेलसँगको भेटमा मन्त्रीद्वयले बाढीबाट क्षतिग्रस्त सडक तथा यातायात पूर्वाधार पुनः सञ्चालनका लागि सरकारले तीव्र गतिमा काम गरिरहेको जानकारी गराएका थिए।
उनीहरूले दसैँअघि नै सडक यातायातलाई पूर्ववत् सञ्चालन गर्ने लक्ष्यसहित दिनरात काम भइरहेको बताएका छन्। साथै, बाढी प्रभावित नागरिकको अस्थायी बसोबासका लागि टहरा तथा ‘क्याप्सुल होम’ निर्माणको काम पनि तीव्र रूपमा अघि बढाइएको जानकारी दिएका छन्।
वैकल्पिक सडक र ठूला बेलिब्रिज निर्माणमा पहल
बाढीका कारण अवरुद्ध सडकमार्गको विकल्पका रूपमा वैकल्पिक सडक निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको मन्त्रीहरूले राष्ट्रपतिलाई जानकारी गराएका छन्।
लामो दूरीका तथा ठूला क्षमताका बेलिब्रिज आवश्यक पर्ने स्थानमा मित्रराष्ट्रहरूसँग सहयोगका लागि आग्रह गरिसकिएको र आवश्यक सामग्री आउने क्रममा रहेको उनीहरूले बताएका छन्।
भेटमा सरकारले सडक सञ्चालनसँगै प्रभावित नागरिकको बसोबास, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक अन्य योजनासमेत अघि बढाइरहेको जानकारी राष्ट्रपतिलाई दिइएको थियो।
मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलसमेत सहभागी थिए।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणसँगै प्रभावित नागरिकको सुरक्षित पुनःस्थापना अहिले सरकारका लागि प्रमुख चुनौती बनेको छ। राष्ट्रपति पौडेलको निर्देशनपछि उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाका कामलाई थप गति दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया