बेपत्ता नागरिकको खोजी तथा उद्धार जारी राख्न राष्ट्रपति पौडेलको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८३, मंगलवार ०६:२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल हुने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले खोज तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गरे।

उनले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य रोक्ने कारण बनाउन नहुने बताए।

“कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवं जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन।”

विदेशी नागरिकको खोजीमा पनि सहकार्य

राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाएका विदेशी नागरिकहरूप्रति समेत दुःख व्यक्त गर्दै सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाए।

उनले नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहेका तथा आध्यात्मिक यात्राका क्रममा रहेका विदेशी नागरिक प्रभावित भएको उल्लेख गर्दै उनीहरूका परिवारप्रति नेपालका तर्फबाट समवेदना व्यक्त गरे।

यस कठिन घडीमा खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराई सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति पनि उनले कृतज्ञता व्यक्त गरे।

उद्धार गरिएका नागरिकलाई आधारभूत सेवा सुनिश्चित गर्न आग्रह

राष्ट्रपति पौडेलले उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने बताए।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष संरक्षण आवश्यक रहेको उनको भनाइ छ। अस्थायी आश्रयस्थल सुरक्षित, व्यवस्थित र मर्यादित हुनुपर्नेमा पनि उनले जोड दिए।

नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनलाई घर फर्काउन आवश्यक सहजीकरण र मानवीय सहयोग उपलब्ध गराउनुपर्ने उनले बताए।

मृतकको पहिचानमा डीएनए परीक्षण

राष्ट्रपति पौडेलले विपत्तिमा ज्यान गुमाएकाहरूको पहिचान सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्नेमा जोड दिए।

आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेख सुरक्षित राखी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन सरकारको ध्यान जानुपर्ने उनले बताए।

पीडितका गुनासालाई समाधानको संकेतका रूपमा लिन आग्रह

प्राकृतिक विपत्तिका कारण घरबारविहीन, विस्थापित, आफन्त गुमाएका तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा गहिरो रहेको राष्ट्रपति पौडेलले बताए।

पीडितलाई अहिले राज्यको साथ र भरोसा आवश्यक रहेको उल्लेख गर्दै उनले सरकार, राजनीतिक दल तथा नागरिक समाज त्यसका लागि क्रियाशील हुनुपर्ने बताए।

“पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।”

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

राष्ट्रपति पौडेलले पछिल्लो विपत्तिले नेपालको हिमाली पर्यावरणको नाजुक अवस्था तथा बढ्दो विश्वव्यापी तापक्रमबाट सिर्जित जोखिमलाई पुनः उजागर गरेको बताए।

उनले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरे।

राष्ट्रिय एकतामा जोड

राष्ट्रपति पौडेलले राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय तथा आम नागरिकलाई विपत्तिको समयमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

यो विभाजन, दोषारोपण वा राजनीतिक विवादमा अल्झिने समय नभएको भन्दै उनले राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न आह्वान गरे।

अबको समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले त्यस क्रममा नेपालको विकास मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए।

सम्बोधनको अन्त्यमा उनले अप्रत्याशित विपत्तिको सामना गर्दै त्यसबाट पार पाउन सबैलाई शक्ति र साहस मिलोस् भन्ने कामना गर्दै ‘जय नेपाल’ भने।

प्रतिक्रिया

Leave a Reply

slot gacor