रसुवा बाढीपीडितका लागि बुढानीलकण्ठ–७ मा रक्तदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८३, बिहीबार ०७:०८

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा घाइतेहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले समेत रक्तदान गर्नुभएको थियो। त्यस्तै, वडा नं. ७ का वडा अध्यक्ष बास नारायण महर्जनले पनि रक्तदान गर्दै विपद्को समयमा पीडित नागरिकको जीवन रक्षाका लागि आफूले सक्ने सहयोग गर्नुपर्ने बताउनुभयो।

वडा अध्यक्ष महर्जनले “रसुवामा आएको विपद्ले धेरै नागरिक प्रभावित भएका छन्। यस्तो कठिन अवस्थामा रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेका हौँ। रक्तदान जीवनदान हो, त्यसैले स्वस्थ नागरिकहरूले नियमित रूपमा रक्तदान गर्नुपर्छ,” भन्नुभयो।

उहाँले विपद्को समयमा राहत, उद्धार तथा उपचारका लागि स्थानीय तह र नागरिकबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मानवीय सेवाका यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।

रसुवा बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।

रक्तदान गर्ने सहभागीहरूलाई वडा कार्यालयले प्रशंसापत्र प्रदान गर्दै मानवीय सेवामा पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रमले विपद्को समयमा स्थानीय तह, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य, मानवीय भावना तथा सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor