काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि बुढानीलकण्ठ नगरपालिकाले विभिन्न वडा कार्यालय तथा स्थानीय समुदायबाट संकलन गरेको राहत सामग्रीसहित तीन वटा गाडी रसुवाको धुञ्चेतर्फ प्रस्थान गरेका छन्।
बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडा तथा समुदायबाट संकलित राहत सामग्री वडा नं. ३ का अध्यक्ष आकाश धिताल र वडा सदस्य विकास तामाङको नेतृत्वमा रसुवातर्फ पठाइएको हो।
राहत सामग्रीमा दाल, चामल, सिरक, डसना, सिरानी, सोलार चार्जर, लत्ताकपडालगायत बाढी प्रभावित परिवारका लागि आवश्यक सामग्री रहेका छन्। उक्त राहत सामग्री रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका जनप्रतिनिधिलाई हस्तान्तरण गरिनेछ।
वडा नं. ३ का अध्यक्ष आकाश धितालले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “रसुवामा भएको विपद्ले धेरै परिवार प्रभावित भएका छन्। यस्तो दुःखको समयमा बुढानीलकण्ठका नागरिक र जनप्रतिनिधि प्रभावितको साथमा छन् भन्ने सन्देश दिन पनि यो सहयोग अभियान अघि बढाइएको हो। संकलित राहत सामग्रीले प्रभावित परिवारको तत्कालीन आवश्यकतामा केही भए पनि सहयोग पुग्ने विश्वास लिएका छौँ।”
उहाँले राहत सामग्री संकलन तथा सहयोगमा साथ दिने सबै वडा कार्यालय, स्थानीय समुदाय तथा सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने बताउनुभयो।
त्यस्तै, वडा सदस्य विकास तामाङले राहत सामग्री प्रभावित नागरिकको वास्तविक आवश्यकताअनुसार उपयोग हुने गरी हस्तान्तरण गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सकेको सहयोग तत्काल प्रभावितसम्म पुर्याउने उद्देश्य हो। खाद्यान्न, न्यानो कपडा, ओढ्ने–ओछ्याउने सामग्रीदेखि सोलार चार्जरसम्मका सामग्री संकलन गरेका छौँ। विपद्को समयमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्न सके प्रभावित परिवारलाई ठूलो हौसला मिल्छ।”
बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडा कार्यालय र समुदायको सहकार्यमा संकलन गरिएको राहत सामग्री तीन वटा गाडीमार्फत रसुवा पठाइएको हो। राहत सामग्री गोसाइँकुण्ड गाउँपालिकाका जनप्रतिनिधिलाई बुझाएपछि प्रभावित परिवारको आवश्यकता र अवस्थाका आधारमा वितरण गरिने जनाइएको छ।
विपद्को समयमा स्थानीय तह, जनप्रतिनिधि र समुदायबीचको सहकार्यलाई उदाहरणीय बनाउँदै बुढानीलकण्ठबाट गरिएको राहत सहयोगले रसुवाका बाढी प्रभावित नागरिकलाई तत्कालीन राहत तथा मानवीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया