काठमाडौं । प्रतिनिधिसभाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्तावलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन्।
विशेष प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए।
उनले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा बेपत्ता भएकाहरूको खोजीलाई प्राथमिकतामा राख्दै राहत तथा पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई निर्देशन दिएका थिए।
यसैबीच, बुधबारको प्रतिनिधिसभा बैठकमा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाले पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
प्रतिक्रिया