काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव र अङ्गको पहिचान गर्न नेपाल प्रहरी अस्पतालले डीएनए प्रोफाइलिङ सुरु गरेको छ।
सम्पर्कविहीन भएका नागरिकका परिवारबाट डीएनए नमुना सङ्कलन गरी फेला परेका शव तथा अङ्गको डीएनए प्रोफाइलसँग मिलान गरेर वास्तविक पहिचान गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो।
नेपाल प्रहरी अस्पतालका अनुसार बुधबार दिउँसो ५ बजेसम्म बेपत्ता व्यक्तिका आफन्तबाट ५३९ वटा डीएनए नमुना सङ्कलन भइसकेका छन्। हराइरहेका व्यक्तिका परिवारले आफ्नो परिचय खुल्ने कागजात र दुई प्रति फोटोसहित अस्पतालमा सम्पर्क गरी नमुना दिन सक्नेछन्। फाराम भर्न कठिनाइ हुने व्यक्तिका लागि अस्पतालले आवश्यक सहजीकरणसमेत गर्ने जनाएको छ।
प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीका अनुसार सङ्कलित नमुनाहरू परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा पठाइनेछ।
बाढी प्रभावित क्षेत्रमा परिचालित प्रहरी टोलीले शव फेला परेपछि मुचुल्का उठाउने, आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने, शवलाई सुरक्षित झोलामा राख्ने तथा फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने काम गरिरहेको छ।
पहिचानमा सहजता ल्याउन फेला परेका शवका तस्बिर तथा उपलब्ध विवरणलाई व्यवस्थित रूपमा अभिलेख राखिएको छ। तत्काल पहिचान खुल्न नसकेका प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत कोड नम्बर प्रदान गरिएको प्रहरीले जनाएको छ।
शवको हुलिया, लगाएको कपडा तथा शवसँगै फेला परेका सामग्रीको समेत विवरण सङ्कलन गरी अभिलेखमा राखिएको छ। यसले डीएनए परीक्षणसँगै अन्य प्रमाणका आधारमा समेत शवको पहिचान गर्न सहयोग पुग्नेछ।
डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका नजिकका नातेदारमध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्ने प्रहरीले जनाएको छ।
विदेशी नागरिकको हकमा भने उनीहरूका स्वदेशमा रहेका बाबु, आमा, छोरा वा छोरीले सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराई त्यसको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था मिलाइएको छ।
यसरी सङ्कलन गरिएका पारिवारिक नमुना र फेला परेका शव तथा अङ्गको डीएनए प्रोफाइल मिलान गरेपछि बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकको वैज्ञानिक रूपमा यकिन पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया