काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाका ४१ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।
जिल्ला प्रशासन कार्यालय धुलिखेलका अनुसार सुरुमा सम्पर्कविहीन भनिएका ४७ जनामध्ये आठ जना सकुशल परिवारको सम्पर्कमा आइसकेका छन्। बाँकी ४१ जनाको अवस्था भने अझै अज्ञात रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो।
बाढी प्रभावित क्षेत्रमा वैदेशिक रोजगारी, व्यापार तथा भ्रमणका क्रममा पुगेका काभ्रेका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी खोजतलास तीव्र बनाएको जनाएको छ।
प्रशासनले बुधबार सार्वजनिक अपिल जारी गर्दै प्रभावित क्षेत्रमा रहेका आफन्तको अवस्था थाहा भएमा तत्काल जानकारी गराउन तथा सम्पर्कविहीन परिवारका सदस्यबारे जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा सम्बन्धित स्थानीय तहमा सूचना दिन आग्रह गरेको छ।
हालसम्म प्राप्त विवरणअनुसारः
प्रशासनका अनुसार सम्पर्कविहीन नागरिकहरूको खोजी, उद्धार तथा अवस्थाको पहिचानका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित स्थानीय तह निरन्तर परिचालन भइरहेका छन्।
बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन नागरिकको वास्तविक अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको प्रशासनले जनाएको छ। परिवारसँग सम्पर्क हुन नसकेका नागरिकले सम्भव भएसम्म तत्काल सुरक्षित माध्यमबाट घरपरिवारलाई आफ्नो अवस्थाबारे जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया