भोटेकोशी बाढी : चितवनमा भेटिएका २७२ शवमध्ये १९९ को व्यवस्थापन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०८३, सोमबार ०७:२८

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवन आइपुगेका शव तथा शारीरिक अवशेषमध्ये पहिचान हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ।

भरतपुर महानगरपालिका–१ स्थित देवघाट क्षेत्रको जंगलमा आइतबार रातिसम्म ती शवहरूको व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवन तथा आसपासका नदी किनारमा हालसम्म २७२ वटा शव तथा शारीरिक अवशेष फेला परेका छन्। तीमध्ये अहिलेसम्म १२ वटा शवको मात्र सनाखत भएको छ।

भविष्यमा बेपत्ता नागरिकका आफन्तसँग डीएनए मिलाएर पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले सबै शवको डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। शवहरूलाई विशेष संकेत चिह्नसहित व्यवस्थापन गरिएको छ, जसका आधारमा पहिचान खुलेपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिने व्यवस्था गरिएको छ।

सनाखत भएका १२ वटा शवको पोस्टमार्टमपछि सम्बन्धित आफन्तले बुझेर लगेका छन्।

प्रहरीका अनुसार हालसम्म फेला परेका २७२ शव तथा अवशेषमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा पहिचान गर्न कठिन हुने शारीरिक अवशेष रहेका छन्।

नदी किनार तथा आसपासका क्षेत्रमा अझै पनि शव तथा अवशेष भेटिने क्रम जारी रहेकाले खोजी तथा व्यवस्थापन कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।

भोटेकोशी बाढीपछि नदीले बगाएर ल्याएका शवहरूको खोजी, पहिचान र व्यवस्थापन अहिले सुरक्षा निकाय तथा प्रशासनका लागि ठूलो चुनौती बनेको छ। डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा बेपत्ता नागरिकका परिवारले आफ्ना आफन्तको पहिचान गर्न सक्ने आशा भने कायम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor