काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विपद्को समयमा पीडित नागरिकका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बढिरहेको छ। सहयोग रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ समेत सञ्चालनमा ल्याएको जनाएको छ।
कार्यालयका अनुसार आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकमा रहेका खातामार्फत उक्त रकम सङ्कलन भएको हो। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।
सरकारले विपद्को यस कठिन परिस्थितिमा प्राप्त हुने सहयोग रकमको पारदर्शी उपयोग तथा प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्ने जनाएको छ। साथै, सहयोगको नाममा हुन सक्ने सम्भावित वित्तीय ठगीबाट जोगिन नागरिकलाई सचेत गराइएको छ।
सरकारले आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई आधिकारिक ‘क्युआर कोड’ तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’को आधिकारिक खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ।
खातासम्बन्धी विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइएको जनाइएको छ।
प्रतिक्रिया