सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार आज साँझ ६ बजे गरिएको मापनमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८४ हजार ७८५ क्युसेक पुगेपछि सुरुमा २१ वटा ढोका खोलिएका थिए। त्यसपछि पानीको बहाव थप बढेर १ लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि थप एक ढोका खोलिएको हो।
कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि खतराको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।
हालसम्म प्रत्यक्ष डुबानको जोखिम नरहे पनि नदीको जलसतह दिउँसोदेखि निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण क्षेत्रमा नजान तथा माछा मार्ने, दाउरा संकलन गर्नेलगायतका जोखिमपूर्ण गतिविधि नगर्न विशेष अपिल गरेको छ।
प्रहरीले वर्षा अझै जारी रहन सक्ने भएकाले नदीको बहाव र जलसतहमा आउने परिवर्तनलाई ध्यान दिँदै सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।
प्रतिक्रिया